फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले गौतमबुद्ध विमानस्थल निर्माणलाई पुनः सुचारु गर्ने

(GMT+08:00) 2017-03-25 14:50:21

रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माणको काम सुरु गर्न चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल कन्स्ट्रक्सनले तत्परता देखाएको छ। चिनियाँ कम्पनी र सहयोगी नेपाली कम्पनीबीचको लेनदेन विवादका कारण विमानस्थल निर्माणको काम 8 दिनदेखि ठप्प छ।

चिनियाँ कम्पनीले नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालले गरेको काममा ओभरल्यापिङ नहुने गरी काम गर्ने तयारी गरेको हो । विमानस्थल परियोजनाले विवाद नहुने संरचनाको काम सुरु गर्न चिनियाँ कम्पनीलाई लिखित रूपमा आग्रह गरेको छ।

एसियाली डेपलपमेन्ट बैंकबाट कालो सूचीमा परेको चिनियाँ कम्पनीले आफ्नै कारणले विवाद सिर्जना गरेपछि विमानस्थल निर्माण अवरुद्ध हुने आशंका गरिएको थियो। एडीबीले यसअघि नै चालु आयोजना प्रभावित नहुने गरी नर्थ वेस्टलाई तीन वर्षका लागि कुनै पनि आयोजनामा काम गर्न नदिने गरी कारबाही गरेको छ। कम्पनीले भैरहवा विमानस्थलको टेन्डर प्राप्तिमा फर्जी कागजात पेस गरेको थियो।

विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्माले नापजाँच भइरहेको काममा असर नपुग्ने गरी काम गर्न निर्देशन दिइएको बताउनुभयो। 'हामीले लिखित रूपमा ओभरल्यापिङ नगरी काम गर्न आग्रह गरेका छौं। कम्पनीले प्रक्रिया सुरु गरिसकेको छ', उहाँले भन्नुभयो।

चिनियाँ कम्पनीले निर्माणका लागि आवश्यक पर्ने सामग्री र मजदुरको व्यवस्थापन गर्न सुरु गरेको नागर अन्नपूर्ण पोस्ट अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु