फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम

(GMT+08:00) 2017-03-25 14:52:19

पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ। संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुनर्निर्माण प्रक्रियामा रहेका सम्पदाबारे अनुगमन गर्न युनेस्कोको एक मिसन टोली अहिले नेपालमा छ। टोलीले दिने प्रतिवेदनका आधारमा विश्वसम्पदाको समीक्षा हुने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो।

'सम्पदा पुनर्निर्माणतर्फ काम नै नभएको होइन, तर जुन स्तरमा काम हुनुपर्ने थियो त्यो हुन सकेको छैन,' महानिर्देशक दाहालले भन्नुभयो, 'यसमा गति दिन नसक्ने हो भने युनेस्कोद्वारा खतराको सूचीमा राख्ने जोखिम छ।'

पुरातत्व विभागका अनुसार अहिलेसम्म पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भएको सम्पदा बौद्धनाथ स्तुपा हो । यो स्तुपा मंसिर पहिलो सातादेखि सर्वसाधारणको अवलोकनका लागि खुला भइसकेको छ। पुरातत्व विभागको प्रत्यक्ष निगरानी रहनुबाहेक यसको पुनर्निर्माणमा सरकारी संलग्नता छैन। निजी क्षेत्र र सरोकारवालाले नै बौद्धनाथको पुनर्निर्माण गरेका हुन्। तर, यसबाहेक अन्य सम्पदा भने सरकारी संलग्नतामा पुनर्निर्माण हुँदै छ। नयाँ पत्रिकाका अनुसार विश्वसम्पदासहित विभिन्न मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणको गतिबाट स्वयं सरोकारवाला निकाय सन्तुष्ट छैनन्।

जानकारी तथा लेखहरु