फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री दाहालद्वारा पोआऊ एशियाली मञ्च सम्बोधन

(GMT+08:00) 2017-03-26 18:42:01

प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया विश्व अर्थतन्त्रको 'प्रमुख हब' का रूपमा विकसित भएको बताउनुभएको छ। एसिया विश्वलाई नेतृत्व गर्न अघि बढिसकेकाले यस क्षेत्रका नागरिक र सरकारबीच थप सहकार्यको अपरिहार्यता बढेको हाईनान प्रान्तको पोआऊ एशिया मञ्चलाई शनिबार सम्बोधन गर्दै उहाँले भन्नुभयो। एसियाका दुई उदीयमान अर्थतन्त्रको बीचमा रहेको नेपालको भूमिका पनि प्रमुख रहने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालजस्ता भूपरिवेष्टित मुलुकले आफ्ना छिमेकीसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

नेपालजस्तो मुलुकलाई दिइने भन्सार सुविधा, सहज पारवहन, लचिलो व्यापार प्रक्रिया, उत्पादनका लागि बजारको सहजीकरणलगायतमा सहुलियत दिन समृद्धिमा अघि बढेका र समुद्रसँग जोडिएका मुलुकले कन्जुस्याइँ गर्न नहुनेमा जोड दिनुभयो। यस्तो सुविधाले नेपालजस्ता मुलुकको विकासमा सहयोग पुग्ने विश्वास प्रधानमन्त्रीको थियो। उहाँले नेपाल चीनले उठाएको त्रिपक्षीय सहकार्यमा अघि बढ्न तयार रहेको स्पष्ट पार्नुभयो। नेपालले चीन र भारतको पुल बन्दै त्रिपक्षीय सहकार्य गर्ने धारणा राख्दै आएको छ। नेपालले चीन र भारत जोडदा दक्षिण एसियालाई नै लाभ हुने पनि प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो।

उहाँले विश्वव्यापीकरणले मानव जीवन उकासेकाले यसलाई थप प्रश्रय दिएर अघि बढ्नुपर्ने नेपाली धारणा प्रस्तुत गर्दै प्रधानमन्त्रीले यस क्षेत्रको आर्थिक गतिलाई अघि बढाउन नेपाल सरकार तयार रहेको बताउनुभयो। नेपाल आन्तरिक राजनीतिमा स्थायित्व कायम गर्दै अघि बढेको उल्लेख गर्दै नेपालमा लगानी गर्नसमेत आग्रह गर्दै उहाँले विश्वव्यापीकरणमा समावेशितालाई जोड्न पनि मञ्चबाट आग्रह गर्नुभएको ईकान्तिपुर अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु