फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठ महिनामा व्यापार घाटा ६ खर्ब

(GMT+08:00) 2017-03-27 16:58:21

नेपालको वैदेशिक व्यापार भयावह बन्दै गएको छ। निर्यातको तुलनामा आयात उछालिँदै गएपछि व्यापार घाटा भयावह बनेको हो। चालू आर्थिक वर्षको सुरु आठ महिनाको अवधिमा व्यापार घाटा बढेर पाँच खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.५५ प्रतिशतले बढी भएको अन्नपूर्णपोस्टले लेखेको छ। अघिल्लो वर्षको आठ महिनामा व्यापार घाटा तीन खर्ब ९५ अर्ब थियो।

भन्सार विभागको तथ्यांकअनुसार आठ महिनामा ६ खर्ब ७५ अर्बको कुल व्यापार भएको छ। यसमध्ये ६ खर्ब २७ अर्बको आयात व्यापार छ। तर, निर्यात भने ४८ अर्बको मात्र छ। अघिल्लो वर्षको सोही अवधिमा आयात चार खर्ब ३८ अर्बको थियो, निर्यात ४३ अर्बमा सीमित थियो। यो वर्ष आयात झन्डै दुई खर्ब बढ्दा निर्यात पाँच अर्बमात्र बढेको छ। यो अवधिमा आयात ४३ प्रतिशतले बढ्दा निर्यात ११ प्रतिशतले मात्र बढेको देखिन्छ।

पछिल्लो आठ महिनामा नेपालबाट एक रुपैयाँको वस्तु निर्यात हुँदा विदेशबाट १३ रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा एक रुपैयाँको वस्तु निर्यात हुँदा १० रुपैयाँको वस्तु आयात गरिएको थियो। आठ महिनामा भएको ६ खर्ब ७५ अर्बको कुल व्यापारमा निर्यातको हिस्सा ७.१ प्रतिशतमात्र रहेको छ। बाँकी ९२.२ प्रतिशत हिस्सा आयात व्यापारको छ।

कृषि प्रधान मुलुक नेपाल खाद्यान्नमा परनिर्भर बन्दै गइरहेको छ। नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। विभागका अनुसार आठ महिनामा भारतबाट चार खर्ब आठ अर्बको वस्तु आयात भएको छ। भारततर्फको निर्यात २७ अर्ब ७२ करोड मात्र छ। नेपालको भारतसँग करिब दुई तिहाई व्यापार हुँदै आएको छ। भारतसँगको व्यापार घाटा पनि तीन खर्ब ८० अर्ब पुगेको विभागको तथ्यांकले देखाउँछ।

नेपालमा भारतबाट चार खर्ब आठ अर्बको सामान भित्रिएको छ। नेपालबाट भारतमा २७ अर्बको सामान निर्यात भएको देखिन्छ। चीनबाट ८४ अर्बको सामान भित्रिँदा नेपालबाट एक अर्ब १५ करोडको सामान चीन निर्यात भएको छ।

जानकारी तथा लेखहरु