फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महँगा पर्यटक भित्राउने माध्यम हिमाल आरोहण

(GMT+08:00) 2017-03-27 17:01:08

नेपाल घुम्न आउने पर्यटकमध्ये सबैभन्दा बढी खर्च गर्नेमा आरोहणमा आउने आरोहीहरू पर्ने गरेका छन्। हिमाल आरोहणबाट सरकारले प्रत्येक वर्ष झन्डै ४० करोड रुपैयाँ राजस्व प्राप्त गर्दै आएको छ।

नेपालमा आरोहणका लागि आउने पर्यटकहरूको कम्तीमा ४५ दिनदेखि ७५ दिनसम्म बसाइ हुने गरेको छ। तर, पर्यटकको औसत बसाइ अवधि भने १२ दिनमात्र रहेको छ भने दैनिक खर्च ४६ डलरमात्र हुने कारोबारदैनिकले लेखेको छ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले नेपालमा सबैभन्दा बढी खर्च गर्ने भनेको पर्वतारोहणमा आउने पर्यटक भएको बताएका छन्।

आरोहणमा आउने पर्यटकले नेपाल बसाइका क्रममा ३५ हजारदेखि ६० हजार डलरसम्म खर्च गर्ने गरेका छन्। आरोहण स्वीकृतिका लागिमात्रै एक जनाले ११ हजार डलर सरकारलाई बुझाउनुपर्छ। एक जना पर्यटक हिमाल आरोहणमा जाँदा ७ देखि १५ जनासम्मले प्रत्यक्ष रोजगारी पाउने गरेका छन्। पवर्तारोहणको सिजन सुरु भएसँगै तारे होटेलहरू पर्यटकले भरिएका छन्। होटल संघ नेपालका अनुसार अहिले ठूला होटेलमा अकुपेन्सी दर ६० देखि ६५ प्रतिशत हाराहारी पुगेको छ।

सन् २०१७ को वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि २ सय ८९ जनाले अनुमति लिएका थिए। यसवर्ष यो संख्या दोब्बर हुने अनुमान गरिएको छ। सन् २०१५ मा भूकम्प र सन् २०१४ मा हिमपहिरोका कारण सगरमाथा आरोहण हुन सकेको थिएन। भूकम्पका कारण १९ आरोहीको ज्यान गएको थियो। सोही कारण रद्द गरेकाहरूलाई सरकारले दुई वर्षभित्र आरोहण गरे रकम नलिने घोषणा गरेको थियो।

सगरमाथा सफल आरोहण गरेको दाबी गर्ने बढेसँगै सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्रयाकिङ गर्ने भएको छ। विगतमा विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने गरेको भन्दै सरकारले यस्तो जिपिएस प्रणाली सुरु गर्न लागेको हो। पर्यटन विभागले सरोकारवाला निकायसँग छलफल गरी जिपिएस प्रणाली सुरु गर्न लागेको जनाएको छ।

जानकारी तथा लेखहरु