फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साढे ४ हजारभन्दा बढी भारु साट्न नसकिने

(GMT+08:00) 2017-03-28 16:43:38

प्रतिबन्धित भारतीय रुपैयाँ पाँच सय र हजार दरका नोट सटहीको सीमा बढाउन तथा प्रतिव्यक्ति हजार र पाँच सयका २५ हजारसम्म भारतीय रुपैयाँ साट्न नेपाली पक्षले गरेको आग्रह भारतले अस्वीकार गरेको छ। भारतीय पक्षले ४५ सयसम्मका यस्ता नोट मात्र साटिदिने प्रस्ताव राखेको छ।

भारु सटहीको प्रक्रिया टुंग्याउन नेपाल आएको भारतीय टोलीले आइतबार बैंक खातामार्फत प्रतिव्यक्ति भारु ४ हजार ५ सयसम्म साटिदिने र उक्त रकम ५ दिन (मार्च ३१, २०१७) भित्र साटिसक्नुपर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा राष्ट्र बैंकले असन्तुष्टि जनाएपछि सोमबार बस्ने गरी बैठक टुंगिएको थियो। सोमबार बसेको बैठकमा पनि राष्ट्र बैंकले सीमा बढाउन आग्रह गरेपछि उक्त प्रस्ताव अस्वीकार गर्दै भारतीय टोलीले स्पष्ट रूपमा भारु सटहीको सीमा बढाउन नसकिने बताएको छ।

भारतीय पक्षले आफ्नो निर्णय बदल्न नचाहेपछि अब राष्ट्र बैंकले सरोकारवालाहरूसँग छलफल गरेर मात्र जवाफ पठाउने भएको छ।

नेपाली पक्षले भने नोटबन्दीअघि एकजना नेपालीले २५ हजारसम्म भारतीय नोट बोक्न वैध रहेकाले त्यतिसम्म रकम साट्न दिनुपर्ने अडान राखेको छ।

भारत सरकारले कात्तिक २४ देखि पाँच सय र एक हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको हो। नेपालमा हजार र पाँच सयका नोटमा प्रतिबन्ध रहे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला पाँच सय र हजार दरका भारुको प्रतिबन्ध खुला भएको थियो। प्रत्येक नेपालीले २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्थासमेत त्यसबेलै भएको थियो।

नेपाली उद्यमी, व्यवसायी र सर्वसाधारणसँग करिब १० अर्ब भारु रहेको अनुमान छ।

उक्त भारतीय टोली सोमबार नै स्वदेश फर्किएको छ। रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) की कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा उक्त टोली गत शनिबार नेपाल आएको थियो।

जानकारी तथा लेखहरु