फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई वर्षमा ३१ अर्ब लगानी थप्दै चौधरी

(GMT+08:00) 2017-03-28 16:51:00

 

चौधरी समुहले आउँदो दुई वर्षमा मुलुकमा सञ्चालित आफ्ना विभिन्न परियोजनामा ३१ अर्ब रुपैयाँ लगानी थप्ने भएको छ।

समुहले फुड्स, बेभरेज, ब्रुअरी, प्याकेजिङ, सिमेन्टलगायतका उत्पादनमूलक उद्योग तथा जलविद्युत्, निर्माण कम्पनी, रियल इस्टेट, होटल, कमर्सियल कम्प्लेक्स जस्ता व्यवसायमा यो लगानी थप्ने भएको हो। सन् २०१९ को जुलाईसम्ममा यो परिमाणमा लगानी गर्ने समुहको योजना रहेको कारोबारदैनिकले लेखेको छ।

समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीका अनुसार हाल सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार तथा निर्माणाधीन परियोजना सम्पन्न गर्नका लागि यो रकम लगानी हुनेछ। प्रबन्ध निर्देशक चौधरीले सम्भावित परियोजनाहरूमा गर्ने लगानी यसमा समावेश नगरिएको बताए।

उनका अनुसार चौधरी समुहको ब्रान्ड बनेको वाइवाइ चाउचाल हाल संसारका ३३ मुलुकमा निर्यात भइरहेको छ भने सीजी ब्रुअरीका उत्पादन बिक्रीका हिसाबले दोस्रो नम्बरमा पुगेका छन्।

चौधरी समुहका उत्पादनहरू एउटै क्षेत्रबाट उत्पादन गर्ने नीतिअनुसार समूहले नयाँ औद्योगिक ग्राम समेत आउँदो वर्षमा निर्माण गरिसक्ने जनाएको छ।

चौधरी समुह (सीजी)ले १५.१ मेगावाटको मिडिल मोदी र ४४ मेगावाटको सुपर मादी परियोजना निर्माण गरिरहेको छ। मोदीमा २ अर्ब ८० करोड र मादीमा ७ अर्ब ५० करोड रूपैयाँ लगानी गर्ने जनाइएको छ। यस्तै, योजनामा रहेको ६० मेगावाटको जलाशययुक्त आयोजनामा १७ अर्ब लगानी गर्ने जनाइएको छ। यस्तै, हिमाल हाइड्रोको क्षमता विस्तार गर्ने समुहको योजना छ।

सानेपामा हेरिटेज लक्जरी होटलका लागि २ अर्ब खर्चने योजना बनाएको सीजीले नवलपरासीमा निर्माण गरिएको शास्वत धामसँग जोड्ने गरी नवलपरासीको हर्कपुरमा ५० करोड लगानीमा आयुर्वेदिक वेलनेस रिसोर्ट निर्माण गर्दैछ। यस्तै, झम्सिखेलमा डेढ अर्ब लगानीमा ४ तारे होटल पनि निर्माण गर्दैछ।

जानकारी तथा लेखहरु