फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल तथा चीनको सँयुक्त लगानीको हिमालय एअरलाइन्सको नयाँ जहाज शुक्रबार काठमाण्डु आउँदै

(GMT+08:00) 2017-03-30 18:34:49

नेपाल तथा चीनको सँयुक्त लगानीमा स्थापित कम्पनी हिमालय एअरलाइन्सले शुक्रबार तेस्रो विमान काठमाडौंमा अवतरण गराउँदै छ। कम्पनीले एक वर्षको अवधिमा यो सहित तीन वटा विमान काठामाडौंमा ल्याउने भएको हो। यसअघि ल्याइएका सो एअरलाइन्सका विमानले नियमित उडान सुरु गरिसकेका छन्।

कम्पनीले दोस्रो एयरबस विमान गत फागुनमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो। कम्पनीले शुक्रबार ल्याउन लागेको जहाज ए–३२–२१४ सिरिजको नयाँ न्यारोबडी विमान हो। कम्पनीका अनुसार हिमालयले एयरबस कम्पनीबाटै सिधै नयाँ विमान किनेको हो। जर्मनीको ह्याम्बर्गमा निर्मित सो जहाज विश्वका विभिन्न मुलुक हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने कम्पनीले जनाएको नेपालखबरले लेखेको छ।

कम्पनीले अहिले दुई वटा जहाज मार्फत मलेसिया, कतार, श्रीलंका र म्यानमारमा उडान गरिरहेको छ। भारत र चीनका सहरहरुमा पनि उडान सुरु गर्ने योजना बनाएको हिमालयले नयाँ विमान ल्याएपछि थप गन्तव्य विस्तार गर्ने छ। हिमालयले विमान ल्याउनको लागि नेपालबाट दर्ता नम्बर पाइसकेको छ।

विस २०७१ सालमा नेपाल–चीनको सँयुक्त लगानीमा स्थापित हिमालयले तीनवर्ष नपुग्दै तीनवटा विमान किन्ने भएको हो। तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको हिमालयले २०७३ जेठदेखि दोहा, कतार र १ अक्टोबर २०१६ मा कोलम्बो, श्रीलंका उडान सुरु गरेको थियो।

नयाँ विमान आएपछि हिमालयसँग तीनवटा विमान हुनेछन्। जसबाट पहिलो चरणमा साउदी अरबको दमाम, हङकङ, भारतका दिल्ली, अहमदावाद र चेन्नइ र दोस्रो चरणमा दुबइ थाइल्याण्डको बैंकक चीनका बेइजिङ, ल्हासा र छेंदुमा प्रत्यक्ष उडान गर्ने योजना बनाएको छ। हिमालयले अबको एकवर्षभित्र एरबस वाइड बडी विमान ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका प्रत्यक्ष उडान गर्ने योजना पनि बनाएको छ।

जानकारी तथा लेखहरु