फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अब नेपालमा पनि युरो–४ मापदण्डको तेल

(GMT+08:00) 2017-03-30 18:36:50

नेपाल आयल निगमले अप्रिल १ देखि युरो–४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले युरो–३ मापदण्डको इन्धन विस्थापन गरी युरो–४ मापदण्डको तेल प्रयोगमा ल्याइसकेकाले निगमले नेपालमा समेत सोही मापदण्डको तेल आयात गर्न लागेको हो।

निगमका प्रवक्ता सीताराम पोखरेलले आगामी अप्रिल १ देखि युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागिएको जानकारी दिएको कारोबारदैनिकले लेखेको छ।

निगमले अहिले युरो–३ मापदण्डको इन्धन आयात गर्दै आएको छ। भारतले सन् २०१७ बाट युरो–३ मापदण्डको इन्धन प्रयोगमा प्रतिबन्ध लगाई युरो–४ प्रयोग गर्ने घोषणा गरिसकेकाले पनि नेपालले सोही मापदण्डकै इन्धन आईओसीबाट ल्याउन लागिएको हो।

आपूर्ति मन्त्रालयका प्रवक्ता सुरेशप्रसाद श्रेष्ठले युरो–४ मापदण्डको तेल उच्च गुणस्तर भएकाले लिटरमा सामान्य महँगो पर्न जाने बताए। यसको प्रयोगले सवारी साधनले तुलनात्मक रूपमा धुँवा कम फाल्ने हुँदा वातावरण प्रदूषण कम हुने उनको भनाइ छ।

सो तेल उच्च गुणस्तरको हुने भएकाले पनि सवारी साधनको आयुसमेत लामो हुने गर्छ। युरो–३ मापदण्डको तेल सवारी साधनमा राख्दा धुवाँधुलो बढी फाल्ने हुँदा वातावरण प्रदूषण हुने गरेको छ। व्यवसायीहरुले पनि युरो–४ मापदण्डको इन्जिनयुक्त गाडी भित्र्याइरहेकाले पनि यही मापदण्डको इन्धन ल्याउँदा थप फाइदा हुने निगमको भनाई छ।

गत वर्ष भारतले नाकाबन्दी गरेका बेला चीनबाट युरो–४ मापदण्डको १३ लाख लिटर पेट्रोल नेपाल ल्याइएको थियो। चीनले सन् २०१७ देखि युरो–३ उत्पादन बन्द गरी युरो–४ मापदण्डको तेललाई अनिवार्य गर्न लागेको भन्दै युरो–३ को तेल दिन नसक्ने बताएको थियो।

पछिल्लो समय विश्व बजारमै युरो –४ मापदण्डको तेल प्रयोगमा आइसकेको छ। युरो–३ मापदण्डको तुलनामा प्रतिलिटरमा एक रुपैयाँ महँगो पर्ने भए पनि उच्च गुणस्तरको भएकाले उपभोक्तालाई असर नपर्ने निगमको भनाई छ।

जानकारी तथा लेखहरु