फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला सुरु

(GMT+08:00) 2017-03-31 16:00:09

राजधानीको भृकुटीमण्डपमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला सुरु भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको मेलामा नेपाल सहित ६ देशका ९९ स्टल रहेका छन्।

'शान्ति सम्वृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय' भन्ने नाराका साथ आयोजना गरिएको मेलामा अफिसियल सात, प्रतियोगितात्मक तीन, ल्याण्डस्केपिङ्गका चार र ५७ वटा व्यवसायिक स्टल छन्। भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरियाका २८ अन्तर्राष्ट्रिय स्टल मेलामा राखिएका छन्। मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजारका उपकरण राखिएको छ। त्यस्तै प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष मेलामा राखिएको एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक दिलिप बादेले जानकारी दिए। चैत २० गतेसम्म चल्ने मेलामा ६५ हजार अवलोकनकर्ता तथा ७५ लाख बराबरको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ।

वि.सं. २०११ सालमा नेपाल प्राइभेट नर्सरी मार्फत सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय हालसम्म ३९ जिल्लामा फैलिएको छ। यसमा लगभग ६ सय ७८ व्यवसायी छन्। यद्यपी मुलक अझै पनि पूर्णरुपमा पुष्प व्यवसायमा आत्मनिर्भर हुन सकेको छैन। फ्लोरिकल्चर एशोसियसन नेपालका उपाध्यक्ष रामजी प्रसाद तिमल्सिनाले पुष्प खेति पहिलेको भन्दा निकै बढे पनि हाइटेक प्रविधिको अभावमा आत्म निर्भर हुन नसकेको बताए। उनले ३ वर्षको अवधिमा देश पूर्ण रुपमा पुष्पको क्षेत्रमा आत्मनिर्भर हुने दावी गरे।

गत आर्थिक वर्षमा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात तथा साढे ३ करोडको निर्यात भएको थियो। हाल देशको लगभग १ सय ४८ हेक्टर क्षेत्रफलमा पष्प व्यवसाय भइरहेकोमा यसमा ४१ हजार जना व्यक्ति प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा आश्रित रहेका छन्।

जानकारी तथा लेखहरु