फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लोडसेडिङ हटाउन भारतबाट करिब 15 अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने

(GMT+08:00) 2017-04-05 18:00:56
         विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङमुक्त गर्न यस आर्थिक वर्षमा भारतबाट करिब 15 अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने जनाएको छ । प्राधिकरणले चालू वर्षको 9 महिनामा 9 अर्ब 6 करोड 84 लाख रुपैयाँ बराबरको विद्युत् आयात गरिसकेको छ । बाँकी तीन महिनामा थप 6 अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने प्रक्षेपण प्राधिकरणको छ ।

          प्राधिकरणमा मंगलबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट चालू आवमा गत आवभन्दा एक अर्ब रुपैयाँ बढीको मात्र बिजुली आयात हुने जानकारी दिनुभयो।उहाँका अनुसार प्राधिकरणले गत वर्ष 13 अर्ब 97 करोड 22 लाख रुपैयाँ मूल्यको बिजुली आयात गरेको थियो । यस वर्ष अघिल्लो वर्षभन्दा एक अर्ब बढीको मात्रै विद्युत आयात हुनेछ । ईकान्तिपुर अनलाईनका अनुसार प्राधिकरणले हाल भारतबाट 5 सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ।

          यस वर्ष प्राधिकरणले 1 अर्ब 97 करोड 20 लाख युनिट बिजुली भारतबाट आयात गर्नेछ। अघिल्लो वर्ष प्राधिकरणले 1 अर्ब 73 करोड 9 लाख युनिट बिजुली आयात गरेको थियो। प्राधिकरणका अनुसार यस वर्ष चैतमा समेत राम्रो वर्षा भइरहेकाले नदीको प्रवाहमा आधारित विद्युत आयोजनामा बिजुलीको उत्पादन बढेको छ भने यस वर्ष आधा दर्जन आयोजना सम्पन्न भई मुलुकको विद्युत प्रणालीमा 1 सय 5 मेगावाट बिजुली थपिएको छ। भूकम्पबाट क्षतिग्रस्त भोटेकोसी आयोजनाको पुनर्निर्माण सकिन लागेको र त्यसबाट छिट्टै विद्युत प्रणालीमा 45 मेगावाट बिजुली थप हुनेछ।

          घिसिङले मुलुकको ऊर्जा संकटलाई समाधान गर्नमात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र निर्माणाधीन आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैंले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने जानकारी दिनुभयो। 4 सय 56 मेगावाटको माथिल्लो तामाकोसी बनेपछि वर्षायाममा बढी हुने बिजुली भारतलाई बेच्नुपर्ने अवस्था आउने जानकारी प्राधिकरणका अधिकारीले दिनुभयो।

           घिसिङका अनुसार यस आर्थिक वर्षमा प्राधिकरणको आम्दानी अघिल्लो वर्षभन्दा 12 अर्ब बढी हुनेछ । गत वर्ष 32 अर्ब आम्दानी गरेको प्राधिकरणले चालू वर्ष 12 अर्ब बढी अर्थात 44 अर्ब रुपैयाँ आम्दानी गर्ने भएको छ । गत वर्ष 5 हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष 6 हजार गिगावाट आवर विद्युत् उत्पादन भएकाले प्राधिकरणको आम्दानी बढेको हो । प्राधिकरणले हाल साँझको समयमा 9 सय 20 मेगावाटसम्म बिजुली वितरण गर्दै आइरहेको छ ।

            प्राधिकरणले देशव्यापी अभियानका रूपमा अघि बढाइएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानका कारण करिब चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको दाबी गरेको छ। त्यसबाट प्राधिकरणलाई थप 1 अर्ब 20 करोड रुपैयाँ बराबरको आम्दानी भएको जानकारी घिसिङले दिनुभयो। उहाँले चालू आर्थिक वर्षको अन्त्यसम्म विद्युत चुहावट करिब 5 प्रतिशतले कम गर्ने गरी अभियान अगाडि बढाइएको बताउनुभयो।

जानकारी तथा लेखहरु