फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा वैदेशिक रोजगारीमा संलग्न घरेलु कामदारको राष्ट्रिय सम्मेलन

(GMT+08:00) 2017-04-07 18:22:36

     वैदेशिक रोजगारीमा संलग्न नेपाली घरेलु कामदारको राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन वैदेशिक रोजगारीमा जाने नेपाली महिला कामदारका विषयमा केन्द्रित हुने बताइएको छ।

      वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नेपाली महिलाको उद्दार र पुनःस्थापनामा काम गरिरहेको पौरखी नेपालले आयोजना गरेको सम्मेलनमा वैदेशिक रोजगारको क्षेत्रमा कामदारहरूले भोग्नुपरेका समस्या, समाधान गर्न गरिएका प्रयासलगायतका विषयमा छलफल भएको छ। आगामी दिनमा सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान र न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा समेत सुझाव दिइएको छ।

      सम्मेलनको उद्घाटन गर्दै श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप गर्नुभन्दा पनि समस्याको निराकरणका लागि मिलेर काम गर्नुपर्ने बताउनुभयो। नेपालको वैदेशिक रोजगारीमा विभिन्न समस्या रहेको भन्दै उनले सहयोगका लागि व्यवसायी, सरोकारवाला र रोजगारीमा जाने कामदारलाई आग्रह गर्नुभयो।

     कार्यक्रममा साउदी अरबका लागि पूर्वराजदूत उदयराज पाण्डेले आफ्नो कार्यकालमा साउदी अरबमा अलपत्र परेका सबै नेपाली महिला कामदारको उद्दार गर्ने अभियान सञ्चालन गरिएको भए पनि 2 महिना पनि बित्न नपाउँदै आश्रय लिने नेपालीको संख्या उति नै भएको बताउनुभएको कारोबार अनलाईनले जनाएको छ।

      व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य विनोद श्रेष्ठले 10 दिनसम्म खाडी राष्ट्र र मलेसियाको भ्रमणमा 1 हजार नेपाली कामदारको गुनासो सुनेको बताउनुभयो। नेपाली दूतावासले राम्रा कामदारको अवस्था मात्र देखाउन खोजेको भए पनि समस्यामा परेका नेपालीको गुनासो समेत सुनेको बताउनुभयो र 1 हजार कामदारमध्ये 6 सय कामदार समस्यामा पर्ने गरेको सुनाउनुभयो।

       घरेलु कामदार सरोकार समाजका महासचिव डीबी तामाङले घरेलु कामदार पठाउने संस्था 32 वटा रहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सबैलाई दोषी देखाएकामा दुःख व्यक्त गर्नुभयो।

      कार्यक्रममा 10 वर्ष साउदी अरब र कुबेतमा घरेलु कामदारका रूपमा काम गरेर फर्किएकी मुना गिरीले वैदेशिक रोजगारीमा जाने सबै नेपाली महिलालाई त्यहाँको कानुन र आफ्नो अधिकारका बारेमा जानकारी नै नहुने गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु