फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुख्खा पहिरोले अवरुद्ध चीनको रेसुओपोर्ट-केरुङ्ग सडक खण्ड केही दिनमा खुल्ने

(GMT+08:00) 2017-04-08 14:21:53

         सुख्खा पहिरोले अवरुद्ध बनेको चीनको रेसुओपोर्ट—केरुङ सडक खण्ड सुचारु हुन सकेको छैन। चीनले पहिरोग्रस्त क्षेत्र ठोङसाभन्दा मुनि रहेको स्थानमा सुरुङ मार्ग बनाउने क्रममा पहरो विष्फोट गराउँदा झरेको सुख्खा पहिरो पन्छाउन अझै दुई/तीन दिन लाग्ने केरुङमा रहेका कन्टेनर व्यवसायी तथा व्यापारी धर्मलाल श्रेष्ठले बताउनुभयो। चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, '10 तारिख नभई खुल्दैन।' चीनमा डेढसय नेपाली कन्टेनर त्यसै थन्किएर बसेका छन्।

         चीनका विभिन्न सहरबाट ल्याइएका सामान रसुवागढीनाकादेखि 29 किलोमिटर पश्चिमोत्तर भाग पाङसिङ छन्। त्यहाँ स्याउ, रेडिमेट(लुगा, ज्याकेट, जुत्ता, खेलौना) जलविद्युतका सामान र स्थानीय चुनावका लागि ल्याएको मतपेटिका छन्। रसुवागढीदेखि चीनको केरुङ 24 किमी छ। केरुङभन्दा 5 किलोमिटर फराकिलो ठाउमा पाङसिङ पर्छ। जहाँ चिनियाँ व्यापारी एजेन्टमार्फत चिनियाँ सामान लोडअनलोड गरी नेपाली कन्टेनरमा राखी नेपालतर्फ रसुवागढी नाका आयात हुने ईकान्तिपुर अनलाईनले लेखेको छ।

          मितेरी पुल चीनको भन्सार कार्यालय रहेको रेसुओपोर्टदेखि 12 किलोमिटर पश्चिमोत्तर पहिरोग्रस्त क्षेत्र पर्छ। उक्त पहिरो चिछोल्न चीनले 3 सयमिटर सुरुङ निर्माण कार्य जारी राखेको छ। एकसयमिटर भन्दा बढी सुरुङ निर्माण गरिसकेको छ। अब बैकल्पिक रुपमा सडक ट्याक खनेर ढुंगा विष्फोट गराउँदै सोमबारसम्ममा सडक सुचारु गर्ने चिनियाँ अधिकारीले बताएको कन्टेनर व्यवसायी श्रेष्ठले बताउनुभयो।

          चीनको केरुङ र पाङसिङमा गरी 1 सय 50 जना नेपाली चालक र सहचालक पैदल हिंडेर रसुवागढी फर्किसकेका छन् भने 50/60 जना मात्रै केरुङमा छन्।

         सिन्धुपाल्चोक 071 साल जुरेमा पहिरो गएर नाका बन्द भएपछि नेपालको उत्तरतर्फ एउटा रसुवागढी नाका सञ्चालनमा आएको हो। रसुवागढी नाका लिच्छविकाल र मल्लकालमा समेत उतिकै चलेको नाका हो।

          त्रिशूली जलविद्युत आयोजना निर्माणको क्रममा काठमाडौं-त्रिशूली सडक खण्डको 2014 सालमा ट्रयाक खोलिएको हो। त्रिशूलीबाट त्यतिबेला बोकाएर चीनको केरुङसम्म फलामे तार, चिउरा, खुर्सानी, सख्खर, तामाका भाडा बोकाएर निर्यात हुने गर्थे।

           उता तिब्बतबाट भेडाच्याङ्ग्रा, उन, जिम्बु आयात हुने गरेका थिए। करिब 2 वर्षपछि चीनले रेसुओपोर्ट विधिवत् रुपमा बेजिङसम्म जोडेपछि अन्तर्राष्ट्रिय नाका बनेको हो। चीनले वन बेल्ट वन रोड अन्तर्गत यही रसुवागढी नाकालाई उपयोग गरी दक्षिण एसियाली मुलुकसंग सडक र रेल संजाल जोड्ने उसको तयारी छ।

          चीनको व्यापारी सहरको सम्पर्क विस्तार गरेपछि चिनियाँ नाका केरुङ हुँदै फलफूल, तयारी लुगा, जुत्ता, थर्मश, खेलौना, इलेक्ट्रोनिक र हाइड्रोपावरका सामान आयात हुन थालेका छन्। नेपालबाट थोरै थाङका, चिउरा, सख्खर, घिउ निर्यात हुने गरेको छ। अवरुद्ध सडकबारे रसुवा भन्सारलाई केही जानकारी नभएको जनाएको छ। यो चैत महिनाको विहिबारसम्म 13 करोड रुपैयाँ राजश्व उठिसकेको भन्सारले जनाएको छ ।

जानकारी तथा लेखहरु