फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बाह्य पर्यटक भित्र्याउन 'अतिथि देवो भवः' अभियान सुरु

(GMT+08:00) 2017-04-09 14:13:54

        नेपालमा बाह्य पर्यटक भित्र्याउन 'अतिथि देवो भवः' अभियान सुरु भएको छ। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो।

        नेपालको आफ्नो मौलिक आतिथ्यता र संस्कारलाई व्यवहारमा उतारी यसलाई बाह्य देशमा फैलाएर पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः अभियान थालिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरेले जानकारी दिनुभयो। अहिले विभिन्न प्रचारात्मक अभियान थालिएको र उक्त अभियानअन्तर्गत पहिलो चरणमा चैत 27 गते नेपालका चार वटा मुख्य पर्यटकीय गन्तव्य क्षेत्रमा 'नमस्ते अभियान' कार्यक्रम सञ्चालन गर्न लागिएको गोरखापत्र अनलाईनले जनाएको छ।

          नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहासहित काठमाडौँ, पोखरा र लुम्बिनीमा एकैसाथ 'नमस्ते अभियान' कार्यक्रम सञ्चालन गर्न लागिएको छ। क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनालले यो अभियानले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने बताउँदै सौराहाले अझै शुद्ध विश्व प्रसिद्ध सफारी पर्यटनका साथै नेपाली संस्कार र संस्कृति पस्कने प्रतिबद्धता जनाउनुभयो।

          विदेशमा सबै काम एनआरएनएका प्रतिनिधिको अगुवाइमा हुने छ। विश्वका 75 देशमा एनआएनएका राष्ट्रिय समन्वय परिषद् छ।

जानकारी तथा लेखहरु