फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङचौका लागि महावाणिज्यदूत भट्टराईद्वारा पदबहाली

(GMT+08:00) 2017-04-10 13:59:05

चीनको क्वाङचौका लागि महावाणिज्यदूतमा नियुक्त हुनुभएका रवी भट्टराई आज सोमबार बिहानै क्वाङचौ उत्रिएका भएको छ। चीनको ब्यापारिक केन्द्र क्वाङचौमा पहिलो नेपाली महावाणिज्यदूतका रुपमा भट्टराईले केही सातामै महावाणिज्य दूताबासको कार्यालय स्थापना गरी काम सुरु गर्ने तयारी थाल्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

'क्वाङचौमा महावाणिज्य दूताबास स्थापना गर्ने जिम्मेवारी सहित म आएको छु', विमानस्थलबाट होटल पुग्नु भएका भट्टराईले भन्नुभयो, 'म देशप्रति प्रतिवद्ध व्यक्ति हुँ, क्वाङचौका नेपाली मित्रहरूको सहयोगमा केही सातामै कार्यालय सञ्चालनमा ल्याउने छौँ।'

गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनका अध्यक्ष सञ्जय चेतानी सहितको टोलीले सोमबार बिहान चाइना साउदर्नको जहाजमा काठमाडौँबाट क्वाङचौ उत्रिएका भट्टराईलाई विमानस्थलमै पुगेर स्वागत गरेको थियो। हङकङबाट रेलमा दुई घण्टाको दुरीमा रहेको क्वाङचौमा नेपाली महावाणिज्य दूताबास स्थापना गर्न एनआरएनएले केही वर्षदेखि अभियान नै चलाएको थियो।

'क्वाङचौमा महावाणिज्य दूताबास स्थापना गर्न एनआरएनए र यहाँका नेपाली ब्यापारी साथीहरूले लामो समयदेखि अभियान चलायौँ', एनआरएनए चीनका अध्यक्ष सञ्जय चेतानीले भन्नुभयो, 'अन्ततः आज महावाणिज्यदूतलाई स्वागत गर्न पाउँदा हामी खुसी छौँ, अब नयाँ चरण सुरु भएको छ।'

बेइजिङमा दुतबास र तिब्बतको ल्हासामा महावाणिज्य दूताबासपछि चीनमा नेपालले स्थापना गरेको यो तेस्रो कुटनीतिक मिसन हो। चीनको विशेष प्रसाशनिक क्षेत्र हङकङ र मकाउका लागि हङकङमा नेपाली महावाणिज्य दूताबास रहेको छ।

चीनको दोस्रो ठूलो प्रान्त क्वाङ्तोङको राजधानी क्वाङचौ चीनको अन्तर्राष्ट्रिय ब्यापार केन्द्र हो, जहाँ करिब चार सय नेपाली ब्यापारी बस्छन्। क्वाङचौमा रहेका नेपाली ब्यापारी नेपाल, भारत सहित यूरोप र अमेरिकासम्म ब्यापार गर्छन्।

समुद्री मार्गबाट नेपालमा सामान पठाउँदै आएका नेपाली ब्यापारी केही महिनाअघि क्वाङचौबाट तिब्बतको सिगात्सेसम्म सिधा मालबाहक रेल सञ्चालनमा आएपछि उत्साहित बनेका थिए। महावाणिज्य दूताबासको स्थापनाले उनीहरूमा खुसी थपेको छ। चाइना साउदर्नको क्वाङचौ–काठमाडौँ हवाई सेवासँग प्रतिस्पर्धा गर्न खोजिरहेको नेपाल एयरलाइन्स पनि चीनबाट अनुमति पाउने क्रममा छ।

भट्टराई गत माघ 20 गते बसेको मन्त्री परिषद् बैठकबाट महावाणिज्यदूत नियुक्त हुनु भएको थियो। चीन सरकारको सहमति पत्र पाएपछि उहाँ क्वाङचौ आउनु भएको हो। यसअघि लगानी बोर्डको सहसचिव रहेका भट्टराईसँग अर्थ मन्त्रालयमा 8 वर्ष, उद्योग मन्त्रालयमा 3 वर्ष, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा 4 वर्ष, वाणिज्य मन्त्रालयमा छ महिना तथा विश्व ब्यापार संगठनमा नायव स्थायी प्रतिनिधिको रुपमा काम गरेको अनुभव छ।

नेपाल–चीन व्यापारको 60 प्रतिशत कारोबार क्वाङचौबाट हुने जनाउँदै भट्टराईले ब्यापार सहजीकरण आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको छ। महावाणिज्यदूत भट्टराईलाई स्वागत गर्न हङकङ–नेपाली ब्यापार संघका अध्यक्ष प्रकाश पुन समेत क्वाङचौ विमानस्थल पुग्नु भएको थियो।

सुरुमा भट्टराईको टिम सानो हुने बताइएको छ। उहाँलाई साथ दिन हाल दक्षिण कोरियाको सोलस्थित नेपाली दूताबासमा रहेका परराष्ट्र मन्त्रालयका अधिकारी दीपक बन्जाडे एक सातापछि क्वाङचौ आउँदै हुनुहुन्छ। महावाणिज्य दूताबास कार्यालय स्थापनाका लागि क्वाङचौस्थित चीन सरकारको परराष्ट्र मन्त्रालयको कार्यालयसँग समन्वय भइरहेको भट्टराईले बताउनुभयो। एनआरएनए अध्यक्ष चेतानीका अनुसार चुचियाङ न्यू टाउन क्षेत्र लगायत केही ठाउँमा कार्यालयका लागि घरहरू हेर्ने काम भइरहेको छ।

जानकारी तथा लेखहरु