फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा आधार शिविरमा 20 आरोही समूह

(GMT+08:00) 2017-04-10 14:00:16
सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि 20 वटा आरोही टोली सगरमाथाको आधार शिविरमा आइपुगेका छन्। आरोहीको संख्या बढेसँगै आधार शिविरमा उचाइको कामदार, क्लाइम्बिङ शेर्पालगायतको चहलपहल बढेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका 20 समूहमध्ये 16 समूहले सगरमाथा, दुई समूहले ल्होत्से र दुई समूहले न्युह्त्से हिमालको आरोहण गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिनुभयो।

ती हिमाल आरोहणमा जानेको लगत एसपिसिसीले राख्दै आएको छ। ल्होत्से र न्युह्त्से हिमाल आरोहण गर्नका लागि पनि सगरमाथाको आधार शिविर हुँदै क्याम्प थ्रीसम्म एउटै बाटो भएर जानुपर्दछ। सगरमाथालगायत खुम्बु क्षेत्रमा रहेका अन्य हिमाल आरोहण गर्नका लागि एसपिसिसीमा आरोहीको नाम, आरोहणका लागि लैजाने सामान दर्ता गरेर जानुपर्दछ। हिमाल आरोहण गरेर फर्किंदा आपूmले प्रयोग गरेका सामान एसिसिसीको कार्यालय नाम्चेसम्म ल्याउनुपर्ने प्रावधान रहेको छ। आरोहीले जथाभावी फोहोर गर्न थालेपछि आरोहणका लागि लगिएको सामान प्रयोग गरिसकेपछि पुनः एसपिसिसीको कार्यालय नाम्चेबजारसम्म ल्याउनुपर्ने प्रावधान कडाइका साथ लागू गरिएको अधिकृत राईले बताउनुभयो।

सगरमाथा अरोहणका लागि सबैभन्दा खतरनाक मानिएको खुम्बु आइसफल हुँदै क्याम्प टू सम्मको बाटो बनाउने काम सकिएको छ। गत यामको तुलनामा यस वर्ष एक हप्ताअगाडि नै क्याम्प टूसम्मको बाटो बनाउने काम सकिएको थियो। एसपिसिसीका आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि क्याम्प टूसम्मको बाटो बनाउने काम सके पनि त्यो बाटोलाई निरन्तर सरसफाइ गरिरहने छन्। बनाइसकेको बाटोमा स–साना हिउँपहिरो झरिरहनाले पनि आधार शिविरदेखि क्याम्प टूसम्मको बाटोमा आइसफल चिकित्सकले दैनिक बनाइरहनुपर्ने एसपिसिसीका बेसक्याम्प म्यानेजर छिरिङतेन्जिङ शेर्पाले बताउनुभयो।

सन् 2014 मा खुम्बु आइसफलको कुनाबाट बाटो बनाइएकामा हिमपहिरो झर्दा 16 आरोही तथा उचाइका कामदार (हाइअल्टिच्युड वर्कर) ले ज्यान गुमाएका थिए। त्यसैले गत वर्षदेखि आइसफलको बीचबाट बाटो बनाइएको छ।

रासस

जानकारी तथा लेखहरु