फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको परराष्ट्र मन्त्रालयद्वारा नयाँ कार्ययोजना लागू

(GMT+08:00) 2017-04-10 14:02:01

नेपालको परराष्ट्र मन्त्रालयद्वारा सम्पादन हुने कार्य तथा योजनालाई निर्धारित समयमै सम्पन्न गरी परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयले वार्षिक नयाँ कार्ययोजना तयार गरेको छ। मन्त्रालय र यस मातहतका महाशाखा, विभाग र नियोगलाई कार्यक्रम, उद्देश्य, जिम्मेवार निकाय, सो कार्यका लागि सहयोगी निकाय, आवश्यक समय सीमा र अपेक्षित नतिजा प्राप्त गर्नका लागि गर्नुपर्ने क्रियाकलापमा आधारित रही कार्यतालिका बनाइएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको निर्देशनमा तयार गरी लागू गरिएको आव 2073/74 को यस वार्षिक एकीकृत कार्यतालिकाको आधारमा मन्त्रालय मातहत व्यक्तिगत र निकायगत जिम्मेवारी तोकिएको छ।

मातहत निकाय वा कर्मचारीले पनि यसै कार्यतालिकाको आधारमा आफ्नो जिम्मेवारीलाई परिणाममुखी बनाउने गरी आ–आफ्नो कार्यको कार्यतालिका निर्माण गरेर काम गर्नुपर्ने बताइएको छ। काम परिणाममुखी भए नभएको र निर्धारित लक्ष्य बमोजिम परिणाम हात लागे नलागेको बारेमा समय सीमाभित्रै जानकारी गराउनुपर्ने र त्यसको अनुगमन हुने व्यवस्था पनि सो तालिकामा रहेको छ।

परराष्ट्रमन्त्री डा. महतद्वारा स्वीकृत सो कार्ययोजना अनुसार उक्त मन्त्रालयअन्तर्गतका सबै महाशाखा, विभाग र नियोगलाई आ–आफ्नो विषय र क्षेत्रसँग सम्बन्धित कार्यको लक्ष्य र समयसीमा निर्धारण गरी यससँग तादात्म्य हुनेगरी निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिइएको छ।

त्यसैगरी आर्थिक कूटनीतिको माध्यमबाट नेपालको पर्यटन, उद्योग, व्यापार, वैदेशिक लगानी र सहयोगको प्रवद्र्धनमा केन्द्रित भई तोकिएको समयमै कार्यसम्पन्न गर्नेगरी मातहतका विभाग र नियोगलाई पनि आ–आफ्नो कार्ययोजना तय गर्न भनिएको छ।

मन्त्रालयद्वारा हाल जारी परियोजनाको प्रगति मूल्याङ्कन, कार्यान्वयनमा उत्पन्न हुनसक्ने चूनौतीको पहिचान, कार्य सम्पन्नताको समय सीमा र कार्यान्वयन गर्ने निकायको जिम्मेवारीका बारेमा समेत सो कार्ययोजनामा उल्लेख गरिएको छ।

कर्मचारीले परिणाममुखी भएर काम गर्न तथा निर्दिष्ट लक्ष्य हासिल गर्न यो कार्ययोजनाले सहयोग गर्ने परराष्ट्र मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो।

रासस

जानकारी तथा लेखहरु