फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशद्वारा भारत हुँदै नेपाली बिजुली खरिद गर्ने प्रस्ताव

(GMT+08:00) 2017-04-11 14:22:41

बंगलादेशले भारतीय भूमि हुँदै नेपाल तथा भुटानबाट बिजुली आयात गर्न प्रस्ताव गरेको छ। भारतको औपचारिक भ्रमणमा रहेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना बाजेदले भारतीय समकक्षी नरेन्द्र मोदी, मन्त्री तथा सरकारी अधिकारीसँगको वार्तामा भारतीय भूमि हुँदै नेपाल र भुटानबाट बिजुली आयात प्रक्रियामा सहजीकरण गरिदिन प्रस्ताव गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। द्विपक्षीय वार्तापछि जारी विज्ञप्तिमा भारतीय भूमि हुँदै बंगलादेशले नेपाल र भुटानबाट बिजुली खरिद गर्न चाहेको र त्यसमा भारतीय सहयोगको अपेक्षा गरेको उल्लेख छ।

'हामीले नेपाल र भुटानबाट भारतीय भूमि हुँदै क्रसबोर्डर बिजुली आयात गर्ने सम्बन्धमा छलफल गरेका छौं,' मोदीसँगको भेटपछि हसिनाले भन्नुभयो। अहिले भारतले भुटानबाट बिजुली आयात र नेपाल, बंगलादेश र म्यानमारमा निर्यात गरिरहेको छ। हसिनाको अभिव्यक्तिले बंगलादेशले सिधै नेपाल र भुटानसँग बिजुली किन्न खोजेको देखिन्छ। प्रस्तावलाई भारतले कसरी लिएको छ भन्नेबारे यकिन भइसकेको छैन।

नेपाल र भारतबीच 3 वर्षअघि विद्युत् व्यापार सम्झौता भएको छ। तर, उपक्षेत्रीय समूह नेपाल, भारत, बंगलादेश र भुटानबीचको बीबीआईएन फ्रेमवर्कअनुसार नेपालले बंगलादेशलाई बिजुली निर्यात गर्न भने सक्छ। पछिल्लो समय बंगलादेशका केही लगानीकर्ताले नेपालको जलस्रोतमा लगानी गर्न इच्छा देखाएका छन्। भारतको ट्रान्समिसन लाइन प्रयोग गरी बंगलादेशलाई बिजुली बेच्ने विषयमा कुराकानी भइरहेको छ।

भारतीय प्रधानमन्त्री मोदी र हसिनाबीच भुटान, बंगलादेश, नेपाल र भारतसहितको चारदेशीय परियोजना अगाडि बढाउने विषयमा समेत छलफल भएको छ। उनीहरूले यस विषयमा भएका प्रगति तथा क्षेत्रीय रूपमा जलस्रोत, ऊर्जा, व्यापार, पारवहन तथा कनेक्टिभिटीमा सहकार्य विषयमा समेत छलफल गरेका थिए। भारत र बंगलादेशले यसअघि केही समय सञ्चालन भएर रोकिएको रेल तथा बस सम्झौताको सुरुआतसमेत गरेका छन्। रेल र बसको रुट पछि नेपाल–भुटानसम्म जोड्ने योजना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सञ्चारमाध्यमले बंगलादेशी सरकारी अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार बंगलादेशले भारतीय भूमि हुँदै नेपालसँग रेल तथा बस सञ्चालन गर्न चाहेको छ। यसबाट तीनदेशीय 'कनेक्टिभिटी' बढ्ने उनीहरूको विश्वास छ। 'भारतको पश्चिम बंगालमार्फत बंगालादेश नेपाल र भुटानसँग कनेक्टिभिटी अगाडि बढाउन चाहन्छ,' अधिकारीले भनेका छन्। भुटानभित्रको आन्तरिक कारणले बीबीआईएन अगाडि नबढिरहेको सन्दर्भमा भारत, नेपाल र बंगलादेशले कनेक्टिभिटी अगाडि बढाउन सक्ने सम्भावना छ।

जानकारी तथा लेखहरु