फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साढे 4 हजारका दरले भारु साट्न निर्देशन

(GMT+08:00) 2017-04-12 14:37:28

भारतले दिएको सिमा अनुसार प्रक्तिव्यक्ति साढे 4 हजारका दरले प्रतिवन्धित भारु पाँच सय र हजार दरका नोट सटही गर्न सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको कान्तिपुर अनलाइनले लेखेको छ।

अर्थमन्त्रालयले मंगलबार राष्ट्र बैंकलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो। 'पहिलो चरणमा भारतको प्रस्ताव बमोजिम भारु साढे 4 हजारका दरले सटही गर्न राष्ट्र बैंकलाई भनेका छौं,' अर्थमन्त्रालय स्रोतले भन्यो, ' थप भारु सटहीका लागि राष्ट्र बैंक र सरकार दुबै तहबाट पहल गर्ने निर्णय भएको छ।' अर्थमन्त्रालयले राष्ट्र बैंकले तयार गरेको मोडालिटी अनुसार बैंकमार्फत साट्न राष्ट्र बैंकलाई निर्देशन दिएको हो।

राष्ट्र बैंकले प्रतिव्यक्ति भारु 25 हजार सम्म सटही सुविधा दिन आग्रह गरिरहेको अवस्थामा करिब 3 साता अघि नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति साढे चार हजार भन्दा बढी साट्न नसक्ने बताएको थियो। भारतको प्रस्ताव निकै कम भएकाले सटही गर्ने वा नगर्ने सम्बन्धमा निर्णय दिन राष्ट्र बैंकले सरकारलाई पत्राचार गरेको थियो। सोही पत्रको उत्तर दिंदै सरकारले हाललाई प्रतिव्यक्ति साढे 4 हजारमात्र भएपनि साट्न निर्देशन दिएको हो।

सरकारले निर्देशन दिएपनि भारु सटहीका लागि खबर पठाउन भारतले दिएको समय गत शुक्रवार(चैत 18 गते) नै सकिएको छ। पैसा सटहीको विषयमा सरकारबाट कुनै निर्णय नआएपछि राष्ट्र बैंकले निर्धारित समयमा भारतलाई खबर पठाउन सकेको छैन। तोकिएको समयपछि खबर पठाउँदा भारतले मान्ने/नमान्ने कुनै टुङगो नभएकाले अहिल्यै केही भन्न नसक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ।

मंगलवार मध्यान्नसम्म अर्थमन्त्रालयको पत्र प्राप्त भइनसकेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भिष्मराज ढुङगानाले बताउनुभयो। उहाँले भन्नुभयो, 'पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया मिलाउन भारतलाई आग्रह गछौ।'

भारत सरकारले गत कात्तिक 24 गते (नोभेम्बर 9, 2016) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तिमा प्रतिवन्ध लगाएको थियो। त्यसबेला देखि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन। बैंक तथा वित्तीय संस्था र मनी चेञ्चर कम्पनीहरुमा करिब 3 करोड 36 लाख रुपैयाँ भारु पाँच सय र हजार दरका नोट रहेको राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणसँग रहेको नोटको विवरण भने आउन सकेको छैन।

जानकारी तथा लेखहरु