फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैशाख 2 गतेबाट नेपालभर विद्यार्थी भर्ना अभियान

(GMT+08:00) 2017-04-12 14:39:17

'हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा' भन्ने नाराका साथ नेपाल सरकारले वैशाख 2 गतेदेखि देशभर भर्ना अभियान सुरु गर्ने भएको छ।

हिजो मंगलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका पाँचदेखि नौ वर्षका 3.1 प्रतिशत बालबालिका र आधारभूत तह कक्षा 1 देखि 8 सम्मको पाँचदेखि 12 वर्ष उमेर समूहका नौ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन अभियान सञ्चालन गरिने बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

विभागले विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी र सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्यका साथ यस वर्षको अभियान सुरु गर्नेछ। महानिर्देशक पोडेलका अनुसार 2073 सालमा प्राथमिक उमेर समूह पाँचदेखि नौ वर्षका विद्यार्थीको खुद भर्ना दर राष्ट्रिय औसत 96.9 प्रतिशत रहेको र आधारभूत तह कक्षा 1 देखि 8 सम्मको पाँचदेखि 12 वर्ष उमेर समूहको खुद भर्नादर राष्ट्रिय औसत 91 प्रतिशत रहेको बताए। विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउने र विद्यालयमा टिकाइराख्न भर्ना अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।

विभागका उपनिर्देशक एवं अनिवार्य शिक्षा तथा बालअधिकार शाखाका प्रमुख नरहरि अर्यालले जुम्ला, हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा भने गत फागुन 1 गतेदेखि नै भर्ना अभियान सुरु भए पनि अन्य 70 जिल्लामा भने वैशाख 2 गतेदेखि सुरु हुने बताउनुभयो।

भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, दिवा खाजा कार्यक्रम, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, वैकल्पिक शिक्षा कार्यक्रम, प्राथमिक बाल शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ।

रासस

जानकारी तथा लेखहरु