फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साता भारतको भ्रमण गर्नुहुने

(GMT+08:00) 2017-04-13 15:22:03

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेश भ्रमणका लागि आउँदा वैशाख 4 गतेबाट भारत जाँदै हुनुहुन्छ। उहाँले त्यहाँ पाँच दिन लामो राजकीय भ्रमण गर्ने निश्चित भएको नेपाल खबर अनलाइनले लेखेको छ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा दक्षिणी छिमेकी मुलुकमा जान लाग्नु भएको हो।

राष्ट्रपति भण्डारीको पाँच दिन लामो राजकीय भ्रमणको मिति र भ्रमण तालिका परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले उहाँको भ्रमण अनुमोदन गरेको हो। परराष्ट्र मन्त्रालयका अनुसार उहाँ दिल्लीमा भारतीय राष्ट्रपति भवनमा बस्नु हुनेछ।

उहाँ वैशाख 4 गते भारत दिल्ली पुग्नु हुनेछ। उक्त दिन उहाँलाई दिल्लीस्थित नेपाली राजदूतावासले विशेष रात्रीभोजद्वारा स्वागत गर्ने कार्यक्रम रहेको छ। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उक्त रात्रीभोज आयोजना गर्नुहुनेछ। वैशाख 5 गते भण्डारीकै सम्मानमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उहाँ सामेल हुनुहुनेछ। त्यहाँ उहाँले 'गार्ड अफ अनर' समेत लिनुहुनेछ।

वैशाख 5 गते नै भण्डारीले राजघाटमा रहेको महात्मा गान्धीको शालिकमा माल्यार्पण गर्नुहुनेछ। त्यही दिन उहाँले यमुना पार्कको अवलोकन गर्नुहुनेछ। त्यस्तै उहाँले उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी र केही वरिष्ठ मन्त्रीहरुसँग भेट गर्ने कार्यक्रम छ। सोही दिन भारतीय समकक्षी मुखर्जीले उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सहभागी हुनुहुनेछ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरात र ओडिसाको पनि भ्रमण गर्ने कार्यतालिका छ। तर त्यहाँ उहाँले कुन कुन स्थल र कुन कुन कार्यक्रममा सहभागिता जनाउनु हुनेछ भन्ने चाहिँ परराष्ट्रले सार्वजनिक गरेको छैन। भ्रमण सकेर वैशाख 8 गते राष्ट्रपतिको स्वदेश फर्कने कार्यक्रम छ।

अघिल्लो वर्षको वैशाख 27 गतेदेखि 5 दिनको भ्रमण तय भए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा सरकारले भ्रमण स्थगित गरेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको उक्त सरकारले रद्द गरेको एक वर्षपछि राष्ट्रप्रमुखको छिमेक यात्रा पुनः निश्चित गरिएको हो।

जानकारी तथा लेखहरु