फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गिद्धको शरिरमा रेडियोकलर

(GMT+08:00) 2017-04-14 14:15:20

चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणमा हुर्किरहेका छवटा पोथी गिद्ध प्रकृतिमा छाड्नु अघि तिनीहरुको शरीरमा रेडियोकलर जडान गरिएको छ। यस अतिरिक्त अध्ययनका लागि नवलपरासीको जटायु रेष्टुराँ क्षेत्रमा प्रकृतिमा रहेका छवटै गिद्धलाई रेडियो कलर जडानपछि बुधबार प्रकृतिमा छाडिसकिएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

निकुञ्जका गिद्धलाई पनि वैशाख 2 गते जटायु रेष्टुराँमा बनाइएको खोरमा राखेर केही समयपछि प्रकृतिमा छाडिँदै छ। जटायु रेष्टुराँ व्यवस्थापन गर्दै आएका डिबी चौधरीका अनुसार बुधबार बिहान 6 वटा प्रकृतिका गिद्धलाई नियन्त्रणमा लिएर ढाडमा रेडियोकलर र पखेटामा ट्याग जडान गरी साँझ प्रकृतिमा छाडिएको हो।

पंक्षी संरक्षण सङ्घ नेपाल र रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्डस्का प्रविधिज्ञहरुले गिद्धमा रेडियोकलर जडान गरेको चौधरीले बताउनुभयो। रेडियोकलर जडान भएका गिद्धको अवस्थाका बारेमा बुधबार साँझदेखि रेकर्ड लिएर अध्ययन थालिएको छ।

चितवनबाट लगिने छवटा गिद्धका लागि प्रकृतिमा छाड्नुअघि राख्न जालीको खोरसहितका पूर्वाधार बनाइसकिएको पंक्षी संरक्षण सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रमानबाबु प्रधानले बताउनुभयो। वैशाख 2 गते सबेरै चितवन राष्ट्रिय निकुञ्जमा रेडियोकलर जडान गरिएका गिद्धलाई लगिने प्रधानले बताउनुभयो। ती दुवै थरिका गिद्धको अध्ययन गरिने र अवस्थाको नियमित जानकारी लिइनेछ। अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ।

विश्वमै पहिलोपटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न लागिएको हो। निकुञ्जको कार्यालय कसरामा यो वर्ष नौवटा बच्चासहित 56 वटा गिद्ध रहेका छन्। सन् 2008 बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो। सरकारले सन् 2016 देखि सन् 2019 सम्ममा 19 वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको छ। यद्यपि, ढिला गरी सन् 2016 मा छाड्ने भनिएका छवटा गिद्ध वैशाख 2 गते छाड्न लागिएको हो। सन् 2017 मा पाँचवटा, सन् 2018 र 2019 मा चार÷चारवटा गरी 19 वटा गिद्ध छाड्न लागिएको हो।

रासस

जानकारी तथा लेखहरु