फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धुर्मुस सुन्तली फाउन्डेशनले बनाएको मुसहर एकीकृत बस्ती हस्तान्तरण

(GMT+08:00) 2017-04-14 14:16:38

बर्दिबास 2 मा मुसहर समुदायका लागि निर्माण भएको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ। सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेशनले बनाएको 53 वटा भवन आज शुक्रबार एक समारोहकाबीच हस्तान्तरण गरिएको छ। कार्यक्रममा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत मुसहर बस्ती संरक्षण समिति अध्यक्ष बिल्तु सदालाई साँचो दिएर बस्ती हस्तान्तरुण गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

बस्ती हस्तान्तरण कार्यक्रममा मुख्य सचिव सोमलाल सुवेदी, महजोडी, कलाकार धुर्मुस, सुन्तलीका बुबा आमा लगायत उपस्थिति थियो। फाउन्डेशनले 3 कोठा, बरन्डा र चोटासहितको 50 आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको छ। बस्तीका तीनवटा घर भने गैर मुसहरका लागि उपलब्ध गराइएको छ।

फाउन्डेशनका अनुसार एक घर बनाउन करिब 8 लाख खर्च भएको छ। मानवता र सद्भावका लागि सहकार्यअन्तर्गत दलित समुदायका लागि नमुना बस्ती बनाइएको हो। देश-विदेशबाट सहयोग संकलन गरेर कलाकारद्वय धुर्मुस, सुन्तलीले बस्ती निर्माण गराउनु भएको हो।

बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ। बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टावर निर्माण गरिएको छ। हरेक घर अगाडी बगैचा तयार गरिएको छ। बगैचामा अशोकका बिरुवा रोपिएका छन्। यसले बस्तीलाई हरियाली र वातावरणमैत्री बनाउनेछ।

 

जानकारी तथा लेखहरु