फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ र भारतीय राजदूतबीच भेटवार्ता

(GMT+08:00) 2017-04-14 14:17:35

नेपालका लागि चिनियाँ राजदूत यु होङ र भारतीय राजदूत मञ्जीभ सिंह पुरीबीच काठमाडौँमा भेटवार्ता भएको छ। संविधान संशोधनको अनिश्चितता र स्थानीय चुनाव घोषणाकाबीच नेपालका दुई छिमेकी देशका राजदूतबीच चिनियाँ दूताबासमै भेटवार्ता भएको नेपाल खबर अनलाइनले लेखेको छ।

नयाँ राजदूत भएर केही साताअघि नेपाल आएलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएका पुरी चिनियाँ राजदूत युलाई भेट्न काठमाडौँस्थित चिनियाँ दूताबास पुग्नु भएको थियो।

दुई राजदूतबीच कहिले भेट भयो भन्ने स्पष्ट नखुले पनि केही दिनअघि मात्र भेट भएको संकेत चिनियाँ भाषाको एक वेबसाइटले बुधबार फोटो सहित दिएको समाचारमा छ। चिनियाँ र भारतीय दूताबासका वेबसाइटमा भने यससम्बन्धी केही जानकारी राखिएको छैन।

चिनियाँ राजदूत यु पाँच महिनाअघि नेपाल आउनु भएको हो भने भारतीय राजदूत पुरी आएको केही सातामात्र बितेको छ। पुरी काठमाडौँ आउँदा यु प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा बेइजिङमा हुनुहुन्थ्यो। त्यसैले दुई राजदूतबीचको यो भेट संभवतः पहिलो हो।

चिनियाँ वेबसाइटले दुई राजदूतबीच नेपालसहित क्षेत्रीय मामिलाबारे छलफल भएको जनाएको छ। 'भारत र चीनले धेरै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा नजिकबाट सहकार्य जारी राख्नुपर्छ', भेटमा भारतीय राजदूत पुरीको भनाई उद्धृत गर्दै चिनियाँ वेभसाइटले लेखेको छ, 'नेपाल राष्ट्रिय विकासको एउटा महत्वपूर्ण चरणमा छ।'

राजदूत पुरीले 'भारत र चीन उदीयमान आर्थिक शक्ति हुन्' भन्दै 'दुई देशबीच व्यापक सहकार्य रहेको' बताउनु भएको थियो। दुई देशबीच उदीयमान आर्थिक शक्ति राष्ट्रहरूको समूह ब्रिक्सको आगामी सेप्टेम्बरमा चीनमा हुने सम्मेलनबारे छलफल भएको वेबसाइटले जनाएको छ।

दुवै राजदूत राम्रो सञ्चार तथा सहयोग सम्बन्ध राख्न सहमत भएका छन्। नेपाल राजनीतिक संक्रमणकालमा रहेको बेला करिब चार वर्षअघि भारतीय राजदूत जयन्त प्रसाद र चिनियाँ राजदूत यङ होउलानले यसरी नै काठमाडौँमा भेटवार्ता गर्नु भएको थियो। सन् 2013 मा काठमाडौँ आएका चीनका राजदूत ऊ छुन्थाई र भारतका राजदूत रन्जित रेले त्यो भेटवार्तालाई निरन्तरता दिनु भएको थियो।

भारतीय राजदूत रेसँग नेपालको शान्ति प्रक्रिया, चीन–नेपाल–भारत त्रिपक्षीय र क्षेत्रीय मामिलाबारे आफ्नो बारम्बार छलफल भएको ऊले बताउनु भएको छ। चीनको 'वान बेल्ट वान रोड' परियोजनामा नेपालको संलग्नता तथा त्रिपक्षीय साझेदारीबारे चर्चा भइरहेको बेला नयाँ राजदूत पुरी र युले कुटनीतिक भेटवार्तालाई निरन्तरता दिनु भएको हो।

जानकारी तथा लेखहरु