फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा नेपाली नयाँ वर्ष

(GMT+08:00) 2017-04-15 19:10:55

नेपाली नयाँ वर्ष 2074 अवसरमा बेइजिङस्थित नेपाली दूताबासले शनिबार अपरान्ह एक भव्य समारोहको आयोजना गरेको छ। चार सयभन्दा बढी सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपाल र चीनबीचमा सांस्कृतिक आदानप्रदान बढाउनका लागि नेपाली नयाँ वर्ष मनाउने कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँले बेइजिङमा रहेका प्राय सबै नेपालीको उपस्थिति रहेको बताउँदै पछिल्लो सयममा नेपाल र चीनबीचमा जनस्तरको सम्बन्ध अझै मजबुत हुँदै गएको औँल्याउनुभयो।

कार्यक्रमलाई नेपालबाट आउनुभएका उर्जाराज्यमन्त्री सत्यनारायण मण्डलले पनि सम्बोधन गर्नुभयो।

कार्यक्रमको सहआयोजकको रुपमा रहेको नेपाल चीन संवाद तथा विकास मन्चका अध्यक्ष डा प्रकाश अधिकारीले नयाँ वर्षको शुभकामना दिँदै नेपालको विकासमा चिनियाँ पूँजी र प्रविधिले मेरुदण्डको काम गरेको बताउनुभयो। चीनले अगाडि सारेको एक पेटी एक मार्ग अवधारणमा नेपालले चाँडै हस्ताक्षर गर्नुपर्ने बताउँदै डा अधिकारीले दुवै देशबीचको आपसी सम्पर्क सन्जाल बढाउनु पर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा चीनको सरकारी निकायका अधिकारीहरु लगायत विभिन्न बौद्धिक वर्गका महानुभावको पनि ठूलो संख्यामा उपस्थिति थियो। नेपाललाई अत्यधिक माया गर्ने पूर्व चिनियाँ कुटनीतिज्ञहरुदेखि नेपालमा लगानी गरिरहेका र गर्न चाहने चिनियाँहरु पनि सो समारोहमा उपस्थित थिए। चिनियाँ तथा नेपालीहरुले भेला भएर नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको यो पहिलो पटक हो।

कार्यक्रममा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालय र बेइजिङ नर्मल विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले विभिन्न नृत्य गीत तथा क्यारिकेचर प्रस्तुत गरेका थिए। कार्यक्रममा सिआरआई नेपाली सेवाको तर्फबाट पनि नृत्य प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु