फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेनासँग संयुक्त सैनिक अभ्यास गर्न चिनियाँ जनमुक्ति सेनाको एक समूह काठमाडौंमा

(GMT+08:00) 2017-04-16 15:08:06

आजदेखि सुरु हुने नेपाल चीन संयुक्त सैनिक अभ्यासमा भाग लिनका लागि चिनियाँ जनमुक्ति सेनाको एउटा विशेष टोली हिजो शनिबार काठमाडौं पुगेको छ। चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङसहित 22 सदस्यीय टोली काठमाडौं पुगेको अन्नपूर्ण पोष्टले लेखेको छ।

चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ नेतृत्वको टोली एयर चाइनाको हवाईजहाजबाट शनिबार काठमाडौँ पुगेको हो। नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले संयुक्त अभ्यासमा सहभागी हुने चिनियाँ सैनिक टोली शनिबार काठमाडौं आइपुगेको बताउनुभयो। प्रवक्ता कडायतले भन्नुभयो, 'सैन्य अभ्यासमा दुवै मुलुकका सानो टोली सहभागी हुनेछन्।'

आजदेखि सुरु हुने नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख 12 गते सकिनेछ। नेपाली र चिनियाँ सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यासबाट छिमेकी मुलुक भारत र केही पश्चिमी राष्ट्र नेपालमा चिनियाँ प्रभाव बढ्न सक्ने भन्दै सशंकित हुँदै आएका छन्। नेपाली सेनाले भने चिनियाँ जनमुक्ति सेनासँग हुन लागेको सैन्य अभ्यास 'नेपालको परराष्ट्र र सुरक्षा नीति' मा आधारित रहेको टिप्पणी गरेको छ।

नेपाली सेना र चिनियाँ सेनाबीच हुने सैन्य अभ्यास आतंकवाद सामना गर्ने विषयमा केन्द्रित हुनेछ। विश्वव्यापी सञ्जाल बनाउँदै गएको आतंकवाद र त्यसबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी नेपाली सेनाले पहिलो पटक चिनियाँ सेनासँग आतंकवादकेन्द्रित विशेष फौज संयुक्त सैन्य तालिम गरेको हो।

नेपाली सेना र चिनियाँ सेनाको संयुक्त सैन्य अभ्यास नेपाली सेनाको विशेष बाहिनीमा हुने स्रोतले बताएको छ। नेपाली सेनाले अभ्यासमा सहभागी हुने नेपाली सैनिकको संख्या सार्वजनिक गरेको छैन।

नेपाल-चीन विशेष फौज संयुक्त सैन्य अभ्यासलाई 'एक्सरसाइज सगरमाथा फ्रेन्डसिप' नाम दिइएको छ। नेपाल-चीन संयुक्त सैन्य अभ्यासबारे चीनको रक्षा मन्त्रालयले गत पुस 14 गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। नेपाली सेनाले भने बिहीबार विज्ञप्ति जारी गर्दै वैशाख 3 गते नेपाल-चिनियाँ सेनाको संयुक्त सैन्य अभ्यास सुरु हुने औपचारिक घोषणा गरेको थियो। नेपाली सेनासँग पाकिस्तान र बंगलादेशले गर्ने भनिएको संयुक्त सैन्य अभ्यास भने स्थगन भएको छ। नेपाली सेनाले द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासका माध्यमबाट सैन्य कूटनीति सुदृढ पार्दै लैजाने बताउँदै आएको छ।

जानकारी तथा लेखहरु