फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्धकृष्णद्वारा पाँचौँपटक जिब्रो छेदन

(GMT+08:00) 2017-04-16 15:10:59

काठमाडौँ उपत्यकाको भक्तपुर जिल्लास्थित मध्यपुरथिमिको प्रसिद्ध जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ। मध्यपुरथिमि नगरपालिका बोडेवासी 45 वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएर परम्परा निर्वाह गर्नु भएको छ। यसअघि 062 देखि 065 सम्ममा 4 पटक जिब्रो छेडाएर संस्कृति बचाएका बुद्धकृष्णले शनिबार पुन: जिब्रो छेडाएर संस्कृति जोगाउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

जिल्लाको प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत मनाइने जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने व्यक्ति नहुँदा जात्रा नै संकटमा पर्ने स्थित भएपछि संस्कृति जोगाउन जिब्रो छेडाएको उहाँले बताउनुभयो। जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेवासी मध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ।

जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइ राखेको करिब 1 फिट लामो सियोले जिब्रो छेडिन्छ। जिब्रो छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ। जिब्रो छेड्दा रगत आउनु हुँदैन। रगत आए अनिष्ट हुने जनविश्वास छ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ।

वैशाख 2 गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ। नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी हजारौंको भीड सबैको अगाडि जिब्रो छेडिन्छ।

गतवर्ष जिब्रो छेडाएका जुजुभाई बास श्रेष्ठले जिब्रो नछेड्ने घोषणा गरेपछि बुद्धकृष्ण जिब्रो छेडाउन तयार हुनु भएको हो। हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभएपनि पछिल्लो तथ्यांक अनुसार जुजुभाईका बाजे हर्कनरसिंहले 22, बेखानारायण हाय श्रेष्ठले 32, हरिदेव किला श्रेष्ठले 1, हरिभासिक श्रेष्ठले 3, इन्द्र बाटा श्रेष्ठले 2, हर्केश्वर ब्याँ श्रेष्ठले 3, चन्द्रसेन घो श्रेष्ठले 7, दिलकुमार खपे श्रेष्ठले 7, मुनि घो श्रेष्ठले 1, धर्मराज बलाम श्रेष्ठले 1, बुद्धकृष्ण कै दाजु कृष्णचन्द्र बाग श्रेष्ठले 12, जुजुभाइले 8 र बुद्धकृष्णले 5 पल्ट जिब्रो छेडेका छन्।

जानकारी तथा लेखहरु