फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालकी राष्ट्रपतिको पाँच दिने भारत भ्रमण सुरु

(GMT+08:00) 2017-04-17 15:33:31

राष्ट्रपति विद्यादेवी भण्डारी 30 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार छिमेकी मुलुक भारत प्रस्थान गर्नुभएको छ। भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जानुभएको हो। भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल, राष्ट्रपति कार्यालयका सचिवलगायतको टोली सहभागी रहेको सेतोपाटी अनलाईनले लेखेको छ।

राष्ट्रपतिको कार्यभार सम्हालेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो। यसअघि गत 27 वैशाखमा भारत भ्रमणको तयारी भइरहेका बेला तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रपतिको भारत भ्रमण स्थगित गरेको थियो। यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले 17 कात्तिकमा नेपालको राजकीय भ्रमण गर्नुभएको थियो। भ्रमणका बेला राष्ट्रपति भण्डारी दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नुहुनेछ। भ्रमणको पहिलो दिन 4 वैशाखमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा राष्ट्रपति भण्डारी सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दिल्ली भ्रमणका क्रममा भारतीय सेनाले 'गार्ड अफ अनर' (सलामी) अपर्ण गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले भारतीय उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायत सत्तारूढ दल भाजपाका साथै विपक्षी कांग्रेसका उच्च नेतृत्वसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको समेत भ्रमण गर्ने कार्यतालिका छ। राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

जानकारी तथा लेखहरु