फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा निःशुल्क मिर्गौला प्रत्यारोपण कार्यक्रम सुरु

(GMT+08:00) 2017-04-17 15:35:48

सरकारले घोषणा गरेको निःशुल्क मिर्गौला प्रत्यारोपण कार्यक्रम आइतबार भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट सुरु भएको छ। मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आइतबार मात्रै केन्द्रमा दुई जनाको मिर्गौला निःशुल्क प्रत्यारोपण भएको जानकारी दिनुभयो।

गोरखापत्र अनलाईनका अनुसार डा. श्रेष्ठले आइतबार निःशुल्क मिर्गौला प्रत्यारोपण भएका बिरामी क्रमशः पोखराका 30 वर्षीय दीपक गुरुङ र काठमाडौँ नाङ्लेभारेकी 26 वर्षीया लक्ष्मी ढकाल रहेको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक डा. श्रेष्ठले निःशुल्क मिर्गौला प्रत्यारोपणको लागि पाँच लाख रुपियाँ र अन्य औषधिसमेत बचत हुने जानकारी दिनुभयो। मन्त्रालयले पठाएको बजेटबाट खर्च हुने गरी मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिँदै उहाँले प्रक्रिया मिलाएर आएका बिरामीको लागि अब केन्द्रमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुने स्पष्ट गर्नुभयो। चालु आर्थिक वर्षका लागि मिर्गौला प्रत्यारोपण गर्न सरकारले एक करोड 50 लाख रुपियाँ छुट्याएको छ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट पनि निःशुल्क मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले अब मिर्गौला प्रत्यारोपणका लागि कुनै खर्च पनि नलाग्ने जानकारी दिँदै मिर्गौला रोगीहरूका लागि निःशुल्क प्रत्यारोपण ठूलो सफलता भएको बताउनुभयो ।

डा. श्रेष्ठका अनुसार प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएको दिनदेखि शल्यक्रिया गरेर सात दिनसम्मको औषधि सरकारले व्यवस्था गर्नेछ।

जानकारी तथा लेखहरु