फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन रसुवागढी नाका प्रवेश पास उपलब्ध गराउन व्यवसायीको माग

(GMT+08:00) 2017-04-18 18:27:38

नेपाल–चीनको प्रमुख व्यापारी नाका रसुवागढीमा व्यापारीका लागि चीन प्रवेश पास उपलब्ध नहुँदा व्यवसायी समस्यामा छन्। बिजनेस पास दिन चिनियाँ पक्ष तयार भए पनि नेपाल सरकारले पास प्राप्तिको मापदण्ड बनाउन चासो नदिएको व्यवसायीको गुनासो छ।

लामो समयदेखि नेपाली व्यवसायीले पासको माग उठाउँदै आएका नागरिकन्यूज डट कमले लेखेको छ। नेपाल चेम्बर अफ कमर्शअन्तर्गतको भन्सार समितिका सभापति निरज राई धेरै अगाडिदेखि आफूहरुले बिजनेस पास उपलब्ध गराउन माग गर्दै आएको तर समस्या सम्बोधन नभएको बताउनुहुन्छ।

रसुवागढी–केरुङ नाकाबाट नेपालतर्फ तयारी पोशाक, इलेक्ट्रोनिक्स सामान, प्लास्टिकका खेलौनाजन्य सामान, स्याउलगायत सामान भित्रिने गर्छन्। आफू चीन जान नपाएपछि सामान ल्याउन व्यवसायीले रसुवाका स्थायीबासिन्दाको उपयोग गर्दै आएका छन्। सीमावर्ती रसुवाका स्थानीयलाई चीनले अस्थायी प्रवेशको पास उपलब्ध गराउँछ। व्यापारीले सामान छुटाउन उनीहरुलाई भाडा तिरेर पठाउँदै आएका छन्।

तातोपानी नाका सञ्चालन हुँदा भने नेपाली पक्षको सिफारिसमा चीनले बिजनेस पास उपलब्ध गराउँथ्यो। व्यवसायी एवं रसुवागढीस्थित सरकारी कर्मचारी चिनियाँ पक्ष बिजनेस पास उपल्बध गराउन तयार रहेको बताउँछन्। व्यवसायीहरु कसको सिफारिसमा पास पाउने भन्नेमा विवादित छन्। उद्योग वाणिज्य महासंघ, परिसंघ र चेम्बर आ–आफ्नो सिफारिसलाई सरकारले मान्यता दिनुपर्ने पक्षमा छन्।

जानकारी तथा लेखहरु