फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा निर्धक्क लगानी गर्न उद्योगमन्त्रीको आग्रह

(GMT+08:00) 2017-04-21 19:29:49

उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी गरेर भरपुर फाइदा लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ। बिहीबार नेपालस्थित कूटनैतिक नियोगका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा भएको छलफलमा उहाँले यस्तो आग्रह गर्नुभएको हो। नेपाल सम्भावनै सम्भावना भएको मुलुक भएकाले लगानीका लागि उपयुक्त गन्तव्य भएको उहाँको भनाइ छ।

लगानीकर्ताले विगतमा औंल्याएका लगानीका लागि अप्ठ्यारा कतिपय ऐन नियममा समय समयिक सुधार गरिसकिएको र कतिपय ऐन निर्माणको अन्तिम चरणमा रहेको बताउँदै मन्त्री जोशीले अहिले पनि नेपालमा लगानी गरिरहेका लगानीकर्ताले मनग्गे नाफा कमाइरहेको जानकारी दिनुभयो।

आगामी आर्थिक वर्षको बजेटमा उद्योग मन्त्रालयले विशेष गरी रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको मन्त्री जोशीले बताउनुभयो। उद्योग मन्त्रालयले प्रत्येक वर्ष 10 खर्ब रुपैंयाँ लगानी भित्र्याएर वार्षिक 50 हजार रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रम अगाडि बढाएको पनि जानकारी गराउनुभयो। उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगत विभागबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शी बनाउन अनलाइन सेवालाई बढावा दिइएको बताउनुभयो।

कूटनैतिक निकायका प्रतिनिधिले नेपालमा उद्योग स्थापना गर्न प्रकृयागत जटिलता रहेको भन्दै त्यसलाई सरलीकृत गरेर अगाडि बढ्न सकेमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय आकर्षित रहेको बताउनुभएको अन्नपूर्ण पोस्ट अनलाईनले जनाएको छ। छिमेकी मुलुकसँग प्रतिश्पर्धी हुने हिसाबले ऐन नियम तर्जुमा गर्न समेत उहाँहरूले सुझाव दिनुभयो।

जानकारी तथा लेखहरु