फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

(GMT+08:00) 2017-04-21 19:32:28

बेइजिङस्थित नेपाली दूताबासले नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ। शुक्रबार अपरान्ह बेइजिङमा रहेको एकमात्र नेपाली रेष्टुरेन्ट नमस्नेमा आयोजना भएको कार्यक्रमको मुख्य उद्देश्य चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउनु रहेको दूताबासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेले सिआरआईलाई बताउनुभयो।

कार्यक्रमको सुरुमा स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सन् २०१७ लाई चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्षको सुभारम्भका रुपमा सो कार्यक्रम रहेको बताउनुभयो। भूकम्पपछि थला परेको नेपाली पर्यटन क्षेत्रलाई उकास्नका लागि चिनियाँ पर्यटक आधार स्तम्भ भएको बताउँदै राजदूत पौडेलले धेरैभन्द धेरै चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गरिने उल्लेख गर्नुभयो।

नेपालको पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले चिनियाँ पर्यटकका लागि नेपाल सस्तो सहज र सुरक्षित गन्तव्य रहेको बताउँदै चिनियाँ पर्यटकका लागि पूर्वाधार तयार गर्न सरकार गम्भीर रहेको बताउनुभयो। अधिक चिनियाँहरु बौद्ध धर्ममा विश्वास गर्ने भएको र नेपाल गौतम बुद्धको जन्मस्थल रहेकाले दुई देशबीचको सांस्कृतिक सम्बन्धले पर्यटन क्षेत्रलाई टेवा दिने बिचार सचिव अधिकारीले व्यक्त गर्नुभयो।

कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित हुनु भएका चिनियाँ राष्ट्रिय पर्यटन प्रशासनका उपाध्यक्ष वाङ स्यावो फङले नेपाल अत्यन्त सुन्दर र नेपालीहरु अत्यन्त भद्र रहेको बताउनुभयो। उहाँले चिनियाँ पर्यटकका लागि नेपालीले गर्ने आतिथ्य सत्कारले सबैलाई प्रभाव पारेको पनि उल्लेख गर्दै आफ्नो संस्थाले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन विशेष पहल गर्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले नेपाली पर्यटन क्षेत्रका विशेष झलक समेटिएको सामग्री प्रदर्शन गर्नु भएको थियो। नेपालका विभिन्न निजी क्षेत्रका अधिकारीहरुको समेत सहभागी रहेको कार्यक्रममा विभिन्न नेपाली गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो।

जानकारी तथा लेखहरु