|
|
|
||
कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन्।
अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका रुपमा चिनिँदै आएको यो गाउँमा अब जलविद्युत् आयोजना भित्रिएसँगै 'हाइड्रो भिलेज'का रुपमा चिनिन थालेको राष्ट्रिय समाचार समितीले लेखेको छ।
नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ सालदेखि जिल्लामै पहिलो पटक विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जिल्लामै जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो। अन्नपूर्ण दक्षिणबाट बग्ने घलेम्दी, नीलगिरि हिमालबाट बाग्ने नीलगिरि अर्थात् मिस्ती र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै करिब दुई सय ९० मेगावाट क्षमताका १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन्। जलस्रोतको अथाह भण्डार भएको यस गाउँमा निर्माण सम्पन्न भएको एक आयोजनासहित १० वटा जलविद्युत् आयोजना भित्रिएको नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङले बताए।
अहिले गाउँमा भित्रिएका जलविद्युत् आयोजनामध्ये पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला आयोजनाले धमाधम पूर्वाधार निर्माण गरिरहेका छन्।
त्यसैगरी, ३८ मेगावाटको नीलगिरि, ६२ मेगावाटको नीलगिरि क्यास्केट, १० मेगावाटको रेले खोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सकेको नारच्याङ जलसरोकार समितिले जनाएको छ। नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा रहेका छन्।
नारच्याङमा दर्ता भएका जलविद्युत् आयोजनाले अहिले धमाधम काम गर्न थालेपछि जिल्लाभर यसले सकारात्मक सञ्चार गराएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |