फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बैंकहरुले नाफा बढाए

(GMT+08:00) 2017-04-25 17:31:00

चालु अर्थिक वर्षको नौ महिनामा अधिकांश बैंकको नाफा बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन्। पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारबाट भएको आम्दानीले नाफा बढेको नागरिकन्यूजले लेखेको छ।

२८ वाणिज्य बैंकमध्ये पाँचवटा एभरेस्ट, एनएमबी, एनआइसी एसिया, सानिमा र सिटिजन्सले नौ महिनाको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक गरेका पाँचमध्ये सबैभन्दा बढी एभरेस्ट बैंकले नाफा कमाएको छ। एभरेस्टले एक अर्ब ५२ करोड रुपैयाँ नाफा पुर्‍याएको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले एक अर्ब २० करोडको नाफा गरेको थियो। यसैगरी वित्तीय विवरण सार्वजनिक गरेका पाँच बैंकमध्ये दोस्रो धेरै नाफा गर्नेमा एनएमबी बैंक छ। उक्त बैंकले नौ महिनामा एक अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा एनएमबी बैंकले ७७ करोड नाफा गरेको थियो।

तेस्रो बढी नाफा गर्नेमा एनआइसी एसिया बैंक परेको छ। यसले सार्वजनिक गरेको नौ महिनाको अपरिष्कृत वित्तीय विवरणमा एक अर्ब १३ करोड रुपैयाँ नाफा गरेको उल्लेख छ। अघिल्लो वर्षको चैतसम्म बैकले ७५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो।

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सानिमा बैंकको नाफा ९४ करोड २९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा सानिमाको नाफा ६७ करोड रुपैयाँ थियो।

सिटिजन्स बैंकले चैत मसान्तसम्म ८८ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ७२ करोड ४७ लाख रुपैयाँ थियो।

गत आवमा भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंकहरुको व्यवसाय विस्तार हुन नसक्दा नाफा धेरै बढ्न सकेको थिएन। चालु आवमा त्यस्तो अवरोध नआएकाले पनि बैंकको नाफा बढेको हो। गत आवको तुलनामा लगानीको वातावरणमा सुधार हुँदै गएकाले पनि बैंकको नाफा आगामी त्रैमासमा अझै बढ्ने अपेक्षा बैंकरहरुले गरेका छन्। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सन्तोषजनक हुने संकेत गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो अवस्था सार्वजनिक गर्दै चालु आवको आर्थिक वृद्धिदर सुधार हुन सक्ने संकेत देखिएको जनाएको छ।

जानकारी तथा लेखहरु