फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई दशककै उच्च आर्थिक वृद्धि

(GMT+08:00) 2017-04-26 18:19:57

नेपालको केन्द्रीय तथ्यांक विभागले यो वर्ष नेपालको आर्थिक वृद्धि ६.९४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। चालू वर्ष सरकारले ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो।

चालू वर्षको जीडीपी प्रक्षेपण स्थिर मूल्यअनुसार आधारभूत मूल्यमा आधारित रहेको कारोबार दैनिकले लेखेको छ। चालु मूल्यअनुसार जीडीपी आधारभूत मूल्यमा २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख उपभोक्ताको मूल्यमा २५ खर्ब ९९ अर्ब २३ करोड ४० लाख रुपैयाँ पुगेको छ। चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७०.६३ प्रतिशत रहेको छ।

राष्ट्रिय योजना आयोगका सचिव चन्द्रकुमार घिमिरेले कृषि क्षेत्र र गैरकृषि क्षेत्र दुवैतर्फको वृद्धि उत्साहजनक देखिँदा आर्थिक वृद्धि लक्ष्यभन्दा बढी प्राप्त हुने सम्भावना बढाएको बताए।

समग्रमा कृषि क्षेत्रको वृद्धि दर ५.२९ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.७४ प्रतिशत छ। अनुकूल मौसमले कृषि क्षेत्रको उत्पादनमा बढोत्तरी, पुनर्निर्माणको कामले गति लिनु र ऊर्जा संकटबाट मुक्ति मिल्दा आर्थिक वृद्धिमा सकारात्मक प्रभाव परेको सचिव घिमिरेको भनाइ छ। यसअघि एसियाली विकास बैंकले ६.२ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोषले ५.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने उल्लेख गरेका थिए।

तथ्यांक विभागका अनुसार चालू वर्ष प्राप्त हुने आर्थिक वृद्धि तथ्यांक गणनाका लागि आधार वर्ष तय गरिएको आर्थिक वर्ष ०५७/०५८ यताकै सबैभन्दा बढी हो। यसअघि आर्थिक वर्ष ०६५/०६६ मा ५.८ प्रतिशत आर्थिक वृद्धि भएको थियो। अहिलेको आधार वर्ष सुरु हुनुअघि आर्थिक वर्ष ०५१/०५२ मा ८ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको तथ्यांक छ।

रेमिट्यान्स विस्तारै उत्पादनमूलक क्षेत्रमा लगानी हुँदै जानु, कृषिमा व्यवसायीकरण देखिनु, राजनीतिक स्थिरतातर्फ मुलुक अग्रसर रहनु, चुनावी वातावरण बन्नु, बन्द हड्तालजस्ता कार्यक्रम कम हुनुका साथै सरकारले लिएका उत्पादनमूलक नीति कार्यान्वयन पक्ष सुधार हुँदा त्यसको असर मुलुकको समग्र अर्थतन्त्रमा परेको विभागको ठम्याइ छ।

जानकारी तथा लेखहरु