फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आन्तरिक बचत १० प्रतिशत मात्रै

(GMT+08:00) 2017-04-27 17:56:50

नेपालीहरूले प्रत्येक एक सय रुपैयाँ आम्दानीमा १० रुपैयाँ २५ पैसा मात्रै बचत गर्ने गरेको पाइएको छ। आम्दानीको अधिकांश हिस्सा बस्तु तथा सेवा उपभोगमा खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको कारोबार दैनिकले लेखेको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्षमा नेपालीहरूले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ८९.७५ प्रतिशत हिस्सा उपभोगमा खर्च गरेर १०.२५ प्रतिशत मात्रै बचत गर्ने गरेको देखिएको छ।

अर्थशास्त्री केशव आचार्यले बचत वृद्धि हुनु सकारात्मक भए पनि यो दीर्घकालीन हो कि हैन भनेर अहिल्यै भन्न सकिने अवस्था नरहेको औंल्याएका छन्। उनका अनुसार नाकाबन्दीको अन्त्यपछि बजार मूल्य नियन्त्रण भएको, पुनर्निर्माणले आंशीक गति लिन थालेसँगै बढी तलबभत्ताका रोजगारी सिर्जना भएको जस्ता कारणले बचत बढेको हो। यस्तै, स्टक मार्केट बढेपछि ब्याजदरमा समेत सुधार आएको छ र यसले रेमिट्यान्स घटे पनि बचत बढेको उनको भनाइ छ।

गत आर्थिक वर्षमा बचत ३.८२ प्रतिशत मात्रै थियो। २०७२ वैशाखमा गएको भूकम्प र त्यसपछिको सीमा नाका अवरोधले आपूर्ति प्रणालीमा समस्या देखिएको थियो भने आन्तरिक उत्पादनमा समेत कमी आएको थियो। गत वर्ष अधिक मूल्यवृद्धिका कारण आम्दानीको अधिकांश हिस्सा उपभोगमै खर्चनुपर्ने अवस्था थियो। यसअघि औसतमा ९/१० प्रतिशत कुल गार्हस्थ्य बचत रहने गरे पनि गत वर्ष भने यसको हिस्सा निकै घटेको थियो। कुल गार्हस्थ्य बचत कम हुनुको अर्थ नेपालीले कमाएको पैसा सबै उपभोगमा खर्च गर्छन् भन्ने नै हो।

कुल गार्हस्थ्य बचतको हिस्सा घटेसँगै जीडीपीमा कुल राष्ट्रिय बचतको हिस्सा पनि घटेको छ। चालू वर्ष जीडीपीमा कुल राष्ट्रिय बचतको हिस्सा ४२.९५ प्रतिशत छ। यसअघि यस्तो बचत ४३.८९ प्रतिशत थियो।

गत वर्ष आन्तरिक उत्पादन घट्दा त्यसले समग्र घरपरिवारको आम्दानी पनि प्रभावित भएको थियो। तर, चालू वर्ष भने आन्तरिक उत्पादनमा सुधार देखिएको छ र चालू वर्ष दुई दशककै उच्च ६.९४ प्रतिशत आर्थिक बृद्धि प्राप्त हुने प्रक्षेपण विभागको छ।

जानकारी तथा लेखहरु