फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ बैंकहरू नेपालमा शाखा खोल्न इच्छुक

(GMT+08:00) 2017-04-28 16:46:54

नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाको ६२औँ वार्षिकोत्सव मनाएको छ। सो अवसरमा आयोजित समारोहमा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले केही चिनियाँ बैंकहरू नेपालमा शाखा खोल्न इच्छुक देखिएको बताउनुभएको छ।

चिनियाँ बैंकहरूलाई नेपालमा शाखा खोल्ने व्यवस्था गर्न लामो समयदेखि राष्ट्र बैंक प्रयासरत भए पनि हाल केही बैंक इच्छुक देखिएको र अब सम्बन्धित् प्रक्रिया अघि बढ्ने डेपुटी गभर्नर सिवाकोटीले बताएको नयाँ पत्रिकाले लेखेको छ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र चिनियाँ केन्द्रीय बैंकका गभर्नरबीच चिनियाँ बैंकलाई नेपालमा शाखा खोल्ने व्यवस्था मिलाउने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। चीनसँगको दुई पक्षीय व्यापार बढ्दै गएपछि राष्ट्र बैंकले चिनियाँ बैंकहरूलाई नेपालमा शाखा खोल्ने वातावरण बनाउन पहल थालेको हो। नेपालमा पूर्वाधार निर्माणमा पनि चिनियाँ कम्पनीहरूको उपस्थिति बढ्दै गएको अवस्थामा त्यस्ता निर्माण कम्पनीहरूलाई बैंक ग्यारेन्टीलगायत बैंकिङ कारोबार गर्न सजिलो पर्ने भन्दै राष्ट्र बैंकले चिनियाँ बैंकलाई स्वागत गर्न हतारिएको छ।

यसै अवसरमा २० वर्षे सेवाअवधि पूरा गरेका आफ्ना कर्मचारीलाई बैंकले बजार मूल्यअनुसार ८४ लाख २४ हजार ३ सय २५ रुपैयाँको सुन र चाँदीका तक्मा बाँडेको छ। १ सय ७५ जना कर्मचारीलाई राष्ट्र बैंकले यस्तो तक्मा दिएको हो।

जानकारी तथा लेखहरु