फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले 'वान बेल्ट वान रोड ' सम्मेलनअगावै हस्ताक्षर गर्ने

(GMT+08:00) 2017-04-28 16:47:43

चीनको बेइजिङमा हुने 'वान बेल्ट वान रोड' परियोजनाको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सहभागी जनाउने निश्चित भएको छ। नेपालले सम्मेलनअगावै परियोजनामा सहभागितासम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहाल गत महिना चीन भ्रमणका क्रममा ओबीओआरको सहमतिमा हस्ताक्षर गरी सम्मेलनमा सहभागी हुने चिनियाँ राष्ट्रपतिसहितका नेताहरूलाई प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्री दाहालले आफूले गरेको प्रतिबद्धताअनुरूप सम्मेलनमा सहभागी हुन अर्थमन्त्री महरालाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी चीन जान भनेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसबारेमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले बताएको राजधानी दैनिकले लेखेको छ।

सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री दाहाललाई चीनले निम्तो दिए पनि नेपालमा स्थानीय तहको निर्वाचनका कारण उनी सहभागी हुन नसक्ने भए पनि उपप्रधानमन्त्री महरालाई त्यसतर्फ जान भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओबीओआर सम्मेलन १४ र १५ मेमा बेइजिङमा हुँदै छ। नेपालमा १४ मे अर्थात् वैशाख ३१ मा नै पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदै छ।

नेपालले सम्मेलनअगावै ओबीओआरमा सहभागिताका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ। स्रोतका अनुसार नेपाली प्रतिनिधि मण्डल १३ मेमा नै बेइजिङमा पुग्ने र समझदारीपत्रमा हस्ताक्षर गर्नेछ। सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की र वाणिज्यमन्त्री रोमी गौचन थकालीसमेत सहभागी हुनेछन्।

यसका साथै चीनसँग हुने सम्झौताका लागि नेपाल आन्तरिक र द्विपक्षीय गृहकार्यमा जुटेको छ। सहमतिका लागि गृहकार्य भइरहेको र अहिलेसम्म टुंगिइनसकेको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए। ओबीओआर परियोजनाले रेलवे, सडक कनेक्टिभिटी, सामुद्री मार्ग, अन्तर्देशीय ट्रान्स्मिसन लाइन, खुला व्यापारलगायका पक्षहरू समावेश गरेको छ।

जानकारी तथा लेखहरु