फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी मे महिनामा चीनले आयोजना गर्ने 'बेल्ट एन्ड रोड' शिखर सम्मेलन नेपालका उपप्रधानमन्त्री सहभागी हुने

(GMT+08:00) 2017-04-30 16:19:58
 चीनले मे महिनाको मध्यमा आयोजना गर्न लागेको बेल्ट एन्ड रोड शिखर सम्मेलनमा नेपालका उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्री बेइजिङ जाने हुनु भएको छ। वैशाख 31 र जेठ 1 मा चीनले बेल्ट एन्ड रोड शिखर सम्मेलन आयोजना गर्दैछ। उपप्रधान तथा अर्थमन्त्री महराले शिखर सम्मेलनकै क्रममा ओबीओर समझदारीमा नेपालका तर्फबाट हस्ताक्षर गर्ने अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

उपप्रधानमन्त्री महरा, सञ्चारमन्त्री सुरेन्द्र कार्की र वाणिज्यमन्त्री रोमी गौचन थकाली सम्मेलनमा सहभागी हुने तयारी भइरहेको सरकारी अधिकारीले बताएको छ। मन्त्रिपरिषद्बाट भ्रमण अनुमोदन हुन बाँकी छ। टोलीमा परराष्ट्र र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी रहनेछन्।

अवधारणाको नेपाल सदस्य बन्ने गरी सम्मेलनका बेला चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि टुंगो लागिनसकेको परराष्ट्रका अधिकारीले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा गरेको भेटमा चीनले अघि बढाएको अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाउनुभएको थियो।

अवधारणामा नेपालको सहभागितासम्बन्धी समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिन चीनसँग कूटनीतिक तहमा कुराकानी भए पनि टुंगिनसकेको अधिकारीहरूले बताए। अवधारणामा नेपाल सदस्य भए नेपाल र चीनबीच सीमापार रेल र सडक सञ्जाल विस्तार, सीमापार विद्युतीय प्रसारण लाइन, सीमापार विशेष आर्थिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा बृहत् सहकार्य हुनेछ।

अवधारणामा रही भौतिक पूर्वाधार विकास, हवाई, सडक र रेल कनेक्टिभिटी विस्तार, पर्यटन, स्वतन्त्र व्यापार, विकास रणनीतिमा साझेदारीलगायत क्षेत्रमा नेपाल–चीन सहकार्य हुनेछ। नेपालले अवधारणाको सदस्य बन्न चीनसँग सन् 2014 मै प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। उपप्रधानमन्त्री महराले चीन अध्ययन केन्द्रले हालै गरेको कार्यक्रममा अवधारणामा नेपाल सदस्य बनेर लाभ लिन चाहेको बताउनुभएको थियो। सम्मेलनमा भाग लिन भौतिक योजनामन्त्री रमेश लेखक पनि इच्छुक रहेको बताइएको छ। तर उहाँको भ्रमणबारे टुंगो लागिसकेको छैन।

चीनले प्रधानमन्त्री दाहाल र चारजना मन्त्रीलाई सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पठाएको थियो। प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनाव घोषणा भएकाले सम्मेलनमा आफू उपस्थित हुन नसक्ने यसअघि नै चीनलाई अवगत गराइसक्नुभएको छ। चिनियाँ राष्ट्रपति सीले सन् 2013 मा अघि बढाएको बेल्ट एन्ड रोड अवधारणाले चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्री मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य लिएको छ।

अवधारणा घोषणा भएपछि त्यसमा सहभागी भइसकेका 65 देश र सहभागी हुन इच्छुक देशलाई निम्त्याएर चीनले शिखर सम्मेलन आयोजना गर्न लागेको हो। चिनियाँ राष्ट्रपतिले उद्घाटन गर्ने दुईदिने सम्मेलनमा एसिया, युरोप र अफ्रिकाका 28 देशका सरकार प्रमुख÷राष्ट्र प्रमुख, मन्त्रीस्तरका अधिकारी, वरिष्ठ कूटनीतिज्ञलगायत सहभागी हुनेछन्। एसियाबाट श्रीलंका, पाकिस्तान र बंगलादेशबाट उच्चस्तरीय सहभागिता रहनेछ।

छिमेकी भारतले अवधारणामा रिजर्भेसन राख्दै सदस्यका रूपमा सहभागी नहुने बताएको छ। चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मेलनमा सहभागिताका लागि निम्तो दिएको थियो। भारतले पनि कुन तहमा सम्मेलनमा प्रतिनिधित्व जनाउने अझै टुंगो लगाएको छैन।

http://annapurnapost.com/news/70005

जानकारी तथा लेखहरु