फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी लगानी थ्रेसहोल्ड दुई लाख डलर

(GMT+08:00) 2017-05-01 14:53:47

नेपालमा अब विदेशी लगानीकर्ताले दुई लाख डलर (दुई करोड रुपैयाँ)भन्दा कम लगानी गर्न नपाउने भएका छन्। नयाँ बन्न लागेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानीको थ्रेसहोल्ड दुई लाख डलर राख्न लागिएको छ।

संशोधित मस्यौदा यसै साता मन्त्रिपरिषद लैजाने तयारी भएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताएका छन्। उनका अनुसार मन्त्रिपरिषदबाट पारित भएपछि संसदमा पेस गरिने छ।

सानो लगानी ल्याएर केही विदेशीले अनेक धन्दा गरेको गुनासो बढ्दै गएपछि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ संशोधन गर्दै थ्रेसहोल्ड दुई लाख डलर पुर्याइएको नागरिकन्यूजले लेखेको छ। साबिक ऐनमा लगानीको सीमा ५० हजार डलर मात्र छ। संशोधन सहित बनको नयाँ ऐनको मस्यौदालाई सोमबारसम्म मन्त्रिपरिषद र त्यसपछि संसदमा जाने तयारी गरिएको छ।

विदेशीहरू सानो लगानीमा आकर्षित हुन थालेपछि लगानीको सीमा बढाउन प्रस्ताव गरिएको र नयाँ ऐनको मस्यौदामा विदेशी लगानीको सीमा (थ्रेस होल्ड) कम्तीमा दुई लाख डलर राखिएको उद्योग मन्त्रालयका सहसचिव प्रदिपकुमार कोइरालाले बताएका छन्।

हालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानीको थ्रेसहोल्ड ५० हजार डलर राखिएको छ। विदेशी लगानीको सीमा कम भएकाले त्यसबाट केही विकृति बढेको भन्दै मन्त्रालयले सीमा बढाएको कोइरालाले बताए।

कतिपय विदेशी कहिले टुरिस्ट भिसा त कहिले बिजनेस भिसामा बसेर अन्य काममा संलग्न भएको पाइएकोले पनि विदेशी लगानीको सीमा बढाउन लागिएको मन्त्रालयले जनाएको छ। साथै विदेशी लगानीको सीमा कम हुँदा कतिपय कर्मचारी र लगानीकर्ताको साँठगाँठ बढेको भन्दै सीमा बढाइएको जनाएको छ। नयाँ ऐनले ठूला लगानीकर्तालाई सुविधा र विदेशी लगानीको नाममा आउने साना लगानीको दुरुपयोग रोक्ने उद्देश्य राखेको बताइएको छ।

मुलुकमा हालसम्म विदेशी लगानी १.५ खर्ब आएको कोइरालाले जानकारी गराए। यसमध्ये पनि सबैभन्दा धेरै चीनबाट लगानी आएको छ। त्यसपछि बेलायत, भारत, सिंगापुर जस्ता देश पनि नेपालमा लगानी गर्नेमध्ये पर्छन्।

हरेक वर्ष अर्बौं रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आउने गरे पनि वास्तविक लगानी भने निराशाजनक छ। उद्योग विभागमार्फत आउने विदेशी लगानी प्रतिबद्धतामध्ये ४० प्रतिशतभन्दा कममात्र लगानी हुने गरेको छ।

जानकारी तथा लेखहरु