फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

(GMT+08:00) 2017-05-01 14:54:58

यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ। सन् १८८६ मा अमेरिकाको सिकागोमा 'आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम' नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका जनाएका छन्। नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।

यसै मजदुर दिवस अर्थात् मे १ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ।

'श्रमिकहरूको अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ। यस मजदुर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु। ' राष्ट्रपति कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

यसैबीच, राष्ट्रिय समाचार समितीका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले आफ्नो अधिकारका लागि एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको गौरवपूर्ण दिनका रूपमा मनाइने विश्व मजदुर दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले मजदुर दिवसको अवसरमा शुभकामना दिँदै मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रूपमा मनाइने उल्लेख गर्नुभएको छ ।

जानकारी तथा लेखहरु