फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई सय ८३ स्थानको उम्मेदवार मनोनयन आज

(GMT+08:00) 2017-05-02 14:57:51

नेपाल सरकारले पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा मात्र निर्वाचन सम्पन्न गर्ने भएको छ। यसै बीच पहिलो चरणमा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दाखिला गर्दैछन्। एकसाथ देखिएका विभिन्न राजनीतिक घटनाक्रमलाई चिर्दै निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ताको समय सार्वजनिक गरेको अन्नपूर्णपोस्टले लेखेको छ।

निर्वाचन आयोगको पहिलो चरणको निर्वाचन कार्यतालिकाभित्र चारवटा महानगरसहित दुई सय ८३ स्थानीय तहको निर्वाचन हुनेछ। देशका प्रमुख सहरी क्षेत्र मानिएका काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिकामा हुने निर्वाचनको चर्चा बढी देखिएको पनि लेखेको छ।

निर्वाचन आयोग प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सोमबार आयोगमा गरेको पत्रकारसम्मेलनमा पहिलो चरणअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुने जानकारी दिनुभएको हो।

उहाँले त्यसको सबै तयारी पूरा भएको जानकारी दिँदै निर्वाचनमा सहभागी हुन सबैसँग आह्वान पनि गर्नुभयो। प्रमुख आयुक्त यादवले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने क्रममा यो ऐतिहासिक निर्वाचन हुन लागेको बताउनुभयो। उम्मेदवार मनोनयनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै आयोगले निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू खटाएको र महिला, दलित, अल्पसंख्यकलगायत सबै उम्मेदवार मनोनयन दर्ता गर्न उहाँले आह्वान गर्नुभयो।

यादवले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट स्थानीय तहमै लोकतन्त्रको वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभ उपभोग गर्ने विश्वास आयोगले लिएको बताउनुभयो। निर्वाचनलाई पर्वका रूपमा लिएर बडो उत्साहका साथ उम्मेदवारी दर्ता गर्न र गराउन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसँग उहाँले अनुरोध गर्नुभयो।

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले व्यवस्था गरेअनुसार महिला, दलित, अल्पसंख्यकका लागि यो ऐतिहासिक अवसर भएको बताउनुभयो। नगरपालिकाको प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलहरूले उत्साहपूर्वक लिनुपर्नेमा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु