फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बुद्ध एयरलाइन्सको योजना

(GMT+08:00) 2017-05-03 16:32:09

बुद्ध एयरले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएँसगै अन्तर्राष्ट्रिय उडान भर्ने योजना तयार गरेको छ। अहिलेसम्म आन्तरिक उडानमा केन्द्रित रहेको बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी गरेको हो।

बुद्धले पोखराबाट सुरुवातमै 3 वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको छ। बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदासम्म बुद्धका 3 वटा बोइङ पनि आइसक्ने अनलाइनखबरलाई बताउनुभयो। उहाँले यसका लागि हवाइजहाज निर्माता कम्पनी बोइङसँग छलफल अघि बढेको बताउनुभएको अनलाइन खबरले लेखेको छ।'हामी काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान भर्ने पक्षमा छैनौं। पोखरा विमानस्थल जति छिटो बन्छ हामी पनि त्यति नै छिटो अन्तर्राष्ट्रिय उडान थाल्छौं' बस्नेतले भन्नुभयो।

कम्पनीले बोइङसँग विमान किन्नेबारे परामर्श सुरु गरिसकेको छ। बुद्धले पोखराको भौगोलिक अवस्थिति एरपोर्टको क्षमताअनुसार त्यहाँबाट कस्तो विमान अन्तर्राष्ट्रिय उडानका लागि उपयुक्त हुन्छ भन्नेबारे अध्ययन गर्न बोइङलाई अनुरोध गरिसकेको छ। अब केही समयमै कम्पनीका प्राविधिकले आएर त्यसबारे अध्ययन गरेर रिपोर्ट दिने बस्नेतले बताउनुभयो।

'सम्भवतः पोखरामा ठूला विमान अवतरण गर्न सक्दैनन्। त्यसैले हामी न्यरोबडीबाटै अन्तर्राष्ट्रिय सेवा थाल्नेछौं', उहाँले भन्नुभयो। बुद्धले अन्तर्राष्ट्रिय उडानका लागि कति लगानी गर्ने, कस्तो विमान किन्ने भन्ने विषयकै आधारमा तय हुने बताएको छ।

पोखरा नै नेपालको सबैभन्दा बढी पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले अन्तर्राष्ट्रिय उडान पनि त्यहीँबाट मात्रै गर्ने बस्नेतले बताउनुभयो।

'पोखराको विमानस्थलमा ठूला विमानहरु जान सक्दैनन्। त्यसैले विभिन्न अन्तर्राष्ट्रिय ट्रान्जिटहरुसँग हाम्रो उडान जोडिन्छ' उहाँले भन्नुभयो, 'विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुसँग हाम्रो सहकार्य हुनेछ। उनीहरुले ट्रान्जिटसम्म ल्याएका यात्रुलाई बुद्धले पोखरा ल्याउँछ।'

बुद्धले दुबई, बैंकक, सिंगापुर, टर्की, हङकङ, सिंगापुर, दोहा, दिल्ली, मुम्बई लगायतका नेपालका इन्टरनेशनल एयर ट्रान्जिट हबलाई केन्द्रित गरेर उडान भने एयोजना बनाएको छ।'पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँको टुरिष्ट मुभमेन्ट अझ बढ्छ। त्यसैले विश्वस्तरीय एयरलाइन्ससँग हाम्रो कार्ट सेयररिङ हुन्छ। हामी ट्रान्जिट हबबाट विदेशी पर्यटकलाई सीधा पोखरामा ल्याउछौं' बस्नेतले भन्नुभयो। विमानस्थलको निर्माण अघि बढ्नासाथ बुद्धले पोखरामा ह्यांगर र कार्यालय निर्माणका लागि काम थाल्ने बताएको छ।

'हामीलाई पोखराको पर्यटकीय महत्व र त्यहाँको सम्भावनाबारे राम्रो जानकारी छ। धेरै पर्यटक भित्र्याउनका लागि पोखरा जति अन्य क्षेत्र समर्थ छैनन्', बस्नेतले भन्नुभयो,'हामीले त्यसैलाई ध्यानमा राखेर पोखरालाई नै केन्दि्रत गरर अन्तर्राष्ट्रिय उडान थाल्न लागेका हौं।'

जानकारी तथा लेखहरु