फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुपन्देहीका 10 स्थानमा अपांगमैत्री आकासे पुल निर्माण हुने

(GMT+08:00) 2017-05-03 16:36:30

बुटवल र भैरहवा सडकलाई अहिले 6 लेनमा विस्तार गर्ने क्रम चलिरहेको छ। त्यही विस्तार भइरहेको सडकका विभिन्न ठाउँमा 10 वटा आकासे पुल पनि निर्माण हुने भएका छन्। बुटवल क्षेत्रमा 7 वटा र भैरहवा क्षेत्रमा 3 वटा आकासे पुल निर्माण गरिने भएको नेपाल खबर अनलाइनले लेखेको छ।

मंगलबार बुटवलको योगिकुटीमा जग खनेर सुरु भएको आकासे पुल निर्माणको काम पहिलो दिनमा नै 3 स्थानमा फाउन्डेसन खनिएका छन्। व्यापारीक मार्ग विस्तार आयोजनाका इन्जिनियर लिलाबहादुर भण्डारीले निरन्तर डक निर्माणको काम अगाडि बढ्ने जानकारी दिनुभयो।

अहिले राजधानी काठमाण्डौमा बाहेक देशका अन्य सहरहरुमा पैदलयात्रुका लागि आकासे पुल बनेका छैनन्। राजधानी बाहिर पहिलो पटक रुपन्देहीमा आकासे पुल बन्न लागेको हो। बुटवलको ट्राफिक चोक, नयाँ वसपार्क, मिलनचोक, राजमार्ग चौराहमा, कालीका उच्च मावि अगाडि आकासेपुल बन्ने छन्। त्यस्तै योगिकुटी, ड्राइभरटोल र भैरहवाको बुद्धचोक, देबकोटा चोक, र बसपार्क तथा आखाँ अस्पताल नजिक पनि आकासेपुल निर्माण गरिने भएका छन्।

सम्झौता भएको 15 महिना भित्र निर्माण कम्पनिले सबै आकासे पुलको बनाइसक्नु पर्नेछ। एक महिना अघि महादेब खिम्ति–एसियाटिक–महेश जेभी नवलपरासीसँग आकासे पुल निर्माणको लागि ठेक्का सम्झौता भएको हो। जस अनुसार 14 महिना भित्र पैदलयात्रुका लागि आकासे पुल तयार भईसक्नु पर्दछ।

25 मिटर लम्बाई, साढे 2 मिटर चौडाइको आकासेपुल न्युनतम 5 मिटर उचाइको हुने छ। आकासे पुल पूर्णतया अपांग मैत्री हुने व्यापारीक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक कार्यालयका इन्जिनीयर लिलाबहादुर भण्डारीले जानकारी दिनुभयो। 'दुबै तर्फको सडकपेटीमा एकातर्फबाट भर्याङ जस्तै स्टेप–स्टेप हुन्छ अर्को तर्फ अपांग र असक्त व्यक्ती पनि हिवीलचियर सहित प्रयोग गर्न मिल्ने गरी निर्माण गर्दैछौ' उहाँले भन्नुभयो।

10 वटा आकासे पुल निर्माणको लागि कुल 11 करोड 50 लाख रुपैया लागत अनुमान गरिएको छ। आकासेपुल नहुँदा पैदलयात्रु असुरक्षित छन भने सवारी साधनहरु सञ्चालनमा पनि असहजता भइरहेको थियो। आकासे पुल बन्न लागेको ठाउँ योगिकुटीमा भेटीएकी तारा सापकोटाले भन्नुभयो 'काठमाण्डौमा आकासे पुल देखेकी थिँए। अब यहाँ पनि बन्ने भयो सडक पार गर्न धेरै सहज होला।'

सवारी चाँप र फराकिलो सडकमा तिब्र गतिमा सवारी गुड्दा पैदल यात्रुलाई सडक पार गर्न निकै समस्या परेको थियो। 'सडक पार गर्दा दुर्घट्नाको सम्भावना बढी हुन्छ कहिलेकाँही भएको पनि छ, पुल बनेपछि बृद्धबृद्धा असक्तलाई पनि सहज हुन्छ' तिलोत्तमा जानकीनगरका स्थानिय विष्णु चापागाँईले भन्नुभयो।

बुटवलको अस्पताललाइन र ट्राफिक चोक बढी सवारी चाँप र पैदल यात्रु ओहोरदोहोर गर्ने ठाउँ हो। कालीकानगरको कालीका उच्च मावि अगाडि विद्यालय समयमा ठूलो संख्यामा बालबालीकाले सडक पार गर्ने गर्दछन्। यी ठाउँमा आकासे पुल बनेमा बालबालीकालाई राहात हुने छ।

अरु ठाउँमा पनि शहरीकरणसँगै दिनप्रतिदिन सवारी चाँप बढिरहेको छ। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक अवदेशकुमार विष्ट भन्नुहुन्छ 'सवारी चाँप र भिडभाड हेर्दा केही वर्ष अघि नै यहाँ सडक पार गर्न आकासेपुल बन्नुपर्ने थियो।' पुल बनेपछि सवारी दुर्घट्ना पनि घट्ने उहाँले सुनाउनुभयो।

'दुर्घट्नामा कमि आउँछ, अर्कोतर्फ ठूलो संख्यामा गाउँका मान्छे सडक पार गर्न मेसो पाउँदैनन् उनीहरुलाई पनि सहज हुन्छ' आकासेपुल बनेमा ट्राफिक नियमको पालना गराउन पनि सहज हुने प्रनाउ विष्टले बताउनुभयो।

अहिले सडक विस्तार भएका स्थानमा मात्र आकासेपुल निर्माणको काम सुरु भएको हो। बुटवल भैरहवा सडकमा पैदल यात्रुका लागि 22 वटा आकासे पुल निर्माणको योजना रहेको छ। 'बाँकी 12 वटा आकासेपुलको लागि अर्को वर्ष टेण्डर प्रक्रिया अघि बढाउँछौ' इन्जिनियर भण्डारीले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु