फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोइला आयातका लागि वैकल्पिक नाका खोल्न भारतसँग प्रस्ताव

(GMT+08:00) 2017-05-03 16:39:09

कोइला आयातमा समस्या उत्पन्न हुँदा सिमेन्ट उत्पादनमा नकरात्मक असर परेपछि नेपाल सरकाले कोइला ल्याउन वैकल्पिक नाका खोल्न भारत सरकारसँग औपचारिक प्रस्ताव गरेको छ।

रक्सौल नाकाबाट आउने कोइलाले स्वदेशी सिमेन्ट उद्योगको माग पूरा हुन नसक्दा उत्पादनमा असर परेकाले सरकारले भैरहवाको नौतनुवा, विराटनगरको जोगबनी र नेपालगंजको रूपेडिया नाका खोल्न प्रस्ताव गरेको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले जानकारी दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

तीन वटा नाकाबाट 'ब्लक कार्गो' ल्याउन दिन भारत सरकारसँग औपचारिक रूपमा जानकारी गराइएको छ,' उपाध्यायले भन्नुभयो, 'ब्लग कार्गो अन्तर्गत विभिन्न सूची पठाइएको छ। अहिले त्यसको विषयमा द्विपक्षीय छलफल हुन बाँकी छ।'

सिमेन्ट उद्योगीले यस अघि नै रक्सौलबाट आउने कोइलाले नेपाली उद्योगको माग सम्बोधन नहुने बताउँदै आएका थिए। 'स्वदेशी उद्योगको क्षमता बढ्दै गएको छ,' सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले भन्नुभयो, 'उत्पादन बढ्ने वित्तिकै कोइला आयातमा पनि वृद्धि हुन्छ। तर, रक्सौलमा भएको क्षमता बढ्दैन्।'

व्यवसायीले फलाम, कोइला र रासायनिक मल मात्र ल्याउन दिनेगरी भारत सरकारसँग प्रस्ताव गर्न सरकारलाई आग्रह गरिरहेका छन्। तर, सरकारले धेरै प्रकारका वस्तु ल्याउन प्रस्ताव गरेकाले भारतले स्वीकृति दिन आनाकानी गरेको उद्योगीको बुझाइ छ।

'जुन वस्तु अत्यावश्यक हो, त्यहीँ मात्रै ल्याउन दिन भारतलाई आग्रह गर्ने हो भने, केही समस्या हुँदैन्,' थापाले भन्नुभयो, 'तर, नेपाल सरकारले भारतसमक्ष लामो सूची पठाएकाले समस्या आएको हो।' विराटनगरको जोगवनी, भैरहवाको नौतनुवामा रेलवे सेवा विस्तार भइसकेको छ। त्यसैगरी, अबको एक वर्षभित्र नेपालगंजको रूपेडिया नाकामा पनि रेलवे सेवा विस्तार हुँदै छ। त्यसैले दुई वटा नाकाबाट तत्काल र रूपेडियाबाट रेलवे सेवा सुरू भएपछि हुने गरी भारत सरकारसँग आग्रह गर्न निरन्तर पहल गर्दै आएका थिए।

भारतले यसअघि नै कुन कुन वस्तु लैजान दिनुपर्ने हो, त्यो सूची पेश गर्न नेपाल सरकारलाई आग्रह गरेको थियो। तर, सरकारले 20 वटा भन्दा बढी वस्तु आयात गर्न पाउँ भन्दै सूची पेश गरेपछि भारत पछि हटेको व्यवसायीको भनाइ छ।

'यदि तीन वटा वस्तु मात्रै आयात गर्न माग गर्ने हो भने, भारत दिन तयार हुन्छ,' उद्योगीले भने, 'सरकारले धेरै वस्तुको सूची पठाएकाले भारत हच्किएको हो।

सचिव उपाध्यायका अनुसार सिमेन्ट उत्पादनका लागि चाहिने कोइला तथा रासायनिक मल र फलामसँगै विभिन्न वस्तु आयातको बाटो खोलिदिँन आग्रह गरिरहेको बताउनुभयो। 'व्यवसायीले धेरै वटा वस्तु ती नाकाबाट ल्याउन भन्दै सुझाव दिएका थिए,' उहाँले भन्नुभयो, 'व्यवसायीको सुझावलाई आधार मानेर सरकारले भारतसँग कुरा गरिरहेको छ। तर, त्यसले अन्तिम रूप पाएको छैन।'

स्वदेशी उत्पादन बढेकाले भारतीय सिमेन्ट आयात प्रतिस्थापन हुन पुगेका बेला कोलाकात्ता सुख्खा बन्दरगाहबाट कोइला आयात हुन समस्या भएपछि उद्योगी मर्कामा पर्दै आएका छन्।

यदि सरकारले बेलैमा कोइला आयातको लागि वैकल्पिक बाटो नखोज्ने हो भने आगामी दिनमा यो समस्या झन ठूलो हुँदै जाने व्यवसायीले अनुमान लगाएका छन्। 'सधैभरि पहुँच लगाएर कोइलाको लोड गराउन सकिँदैन्,' एक अर्का सिमेन्ट उद्योगी भने 'यो समस्यालाई समाधान गर्न वैकल्पिक नाकाबाट कोइला आयातको बाटो खोल्नु उत्तम उपाय हो।'

यता, सरकारले नेपाली सिमेन्ट उद्योगलाई 43 र 53 ग्रेडको मान्यता दिने तयारी गर्दै छ। उद्योगले 43 र 53 ग्रेडको मान्यता पाउने वित्तिकै विदेशबाट सिमेन्ट आयात शुन्यमा झर्छ। तर, क्षमता अनुसार उद्योग चल्न नपाउने वित्तिकै भारतबाट सिमेन्ट आयात बढ्ने र स्वदेशी पैसा भारत जाने र व्यापार घाटा बढ्ने उद्योगीहरूको अनुमान छ।

लामो समयसम्म भारतबाट कोइला आयात नहुँदा स्वदेशी सिमेन्ट उद्योग समस्यामा परेका थिए। तर, तीन दिनदेखि कोलाकात्तलाबाट थोरै परिमाणमा कोइला आयात भइरहेको छ। हाल आयात भइरहेको कोइलाले स्वदेशी उद्योगको माग धान्न नसकेको उद्योगीहरूले बताएका छन्।

जानकारी तथा लेखहरु