फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मौसम र जलवायुबारे जानकारी दिन कृषकलाई मोबाइल फोन

(GMT+08:00) 2017-05-04 15:11:38

सुनसरीका 63 कृषक समूहलाई बुधबार मोबाइल फोन वितरण गरिएको छ। किसानलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना वस्थापन इकाईले जिल्लाका 63 वटा कृषि समूह, कृषि सहकारी र पशुपालन कृषक समूहलाई मोबाइल फोन वितरण गरेको हो। जिल्लाका किसानलाई बुधबार जिल्ला कृषि विकास कार्यालय सुनसरीमा कृषि व्यवस्थापन प्रणालीको सामग्री तथा उपकरण वितरण कार्यक्रम आयोजना गरी सो सामग्री वितरण गरेको हो।

कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि मोबाइल फोन सिम कार्डसहित वितरण गरिएको आयोजनाका निर्देशक विष्णुप्रसाद घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार आयोजनाले किसानलाई जानकारीमूलक प्रोडक्टका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक हाम्रो कृषि मोबाइल, एसएमएस, इन्टर एक्टिभ र भ्वाइस रेस्पोन्सका लागि सामग्री वितरण गरिएको हो।

उक्त मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्नउत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथा लगायतका कुरा मोबाइलबाटै थाहा पाउने आयोजना निर्देशक घिमिरेले बताए। समूह र सहकारीलाई वितरण गरेको उक्त मोबाइलबाट झन्डै दुई हजार किसानले राहत पाउनेछन्। सूचना पाएर आफ्नो कृषि बाली तथा पशुपक्षी पालनमा सहजताका साथै सतर्कता अपनाउन सहज हुने जिल्ला कृषि विकास कार्यालय प्रमुख राजकान्त झाले जानकारी दिनुभयो।

झाका अनुसार 63 सहकारी र समूहमध्ये 38 सहकारी र समूह कृषितर्फ तथा 25 वटा समूह पशुतर्फको रहेका छन्। समूह र सहकारीलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले मोबाइल फोन सेटसँगै, रेनगेज, तापक्रम नाप्ने थर्मामिटर लगायतका सामग्री वितरण गर्नुभयो। सामान पाएपछि किसान र कृषक समूहले त्यसबाट आफूहरुलाई पशुपालन तथा बाली उत्पादनमा सहज हुने प्रतिक्रिया दिएका छन्।

जानकारी तथा लेखहरु