फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल वान बेल्ट वान रोडको सदस्य बन्ने पक्का

(GMT+08:00) 2017-05-05 14:33:38

चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपाल सदस्य बन्ने निश्चित भएको छ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको आसन्न चीन भ्रमणमा नेपाल ओबीओआर सदस्य बन्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको अन्नपूर्णपोस्टले लेखेको छ। वैशाख ३१ गते बेइजिङ जानुहुने अर्थमन्त्री कृष्णबहादुर महराले ओबीओआर समझदारीपत्रमा हस्ताक्षर गर्नुहुनेछ।

परराष्ट्र स्रोतका अनुसार ओबीओआरमा नेपाल सदस्य बन्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिइएको छ। 'बेल्ट एन्ड रोड' शिखर सम्मेलनमा सहभागी हुन मन्त्री महराको नेतृत्वमा सञ्चारमन्त्री सुरेन्द्र कार्की र भौतिक योजनामन्त्री रमेश लेखकसहित १२ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको हो। वैशाख ३१ र जेठ १ मा चीनले 'बेल्ट एन्ड रोड' शिखर सम्मेलन आयोजना गर्दैछ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण टुंगो लगाएको हो। प्रतिनिधिमण्डलमा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुनेछ।

यस अघि गत बुधबार मै तीन तारिख चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले पनि सीआरआईको अवलोकन भ्रमणको क्रममा उक्त शिखर सम्मेलनमा नेपालका उपप्रधान तथा अर्थमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल सहभागी हुने र सोही अवसरमा हस्ताक्षर गर्ने जानकारी दिनुभएको थियो।

चिनियाँ बेल्ट एन्ड रोड अवधारणामा नेपाल सदस्य बनेको खण्डमा नेपाल र चीनबीच सीमापार रेल र सडक सञ्जाल विस्तार, सीमापार विद्युतीय प्रसारण लाइन, सीमापार विशेष आर्थिकलगायत क्षेत्रमा दुई देशबीच बृहत् सहकार्य हुनेछ। नेपालले बेल्ट एन्ड रोड अवधारणाको सदस्य बन्न चीनसँग सन् २०१४ मै प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।

जानकारी तथा लेखहरु