फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ लगानीका धेरै परियोजना होटेल क्षेत्रमा

(GMT+08:00) 2017-05-07 15:38:30

नेपालको हस्पिटालिटी बिजनेसमा चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन्। चालू आर्थिक वर्षको १० महिनामा ९६ वटा होटेल/रेस्टुराँमा विदेशी लगानीको प्रस्ताव आएको छ। यसमध्ये ६० वटा होटेलमा चिनियाँ लगानीकर्ताबाट लगानीको प्रस्ताव आएको अन्न्पूर्णपोस्टले लेखेको छ।

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा विभिन्न मुलुकबाट १० अर्ब ७० करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको छ। यसमध्ये आधा लगानी होटेलमा मात्रै रहेको छ। चिनियाँ लगानीका धेरै परियोजना पनि होटेल क्षेत्रमा छन्। खासगरी चिनियाँ लगानी साना होटेल तथा रेस्टुराँमा बढी आएको देखिन्छ। विभागका अनुसार कुल प्रस्तावित लगानीको चार अर्ब ९३ करोड लगानी होटेलमा छ। यसमा चिनियाँ लगानीको हिस्सा चार अर्बभन्दा बढी छ। चीनबाट दुईवटा तारे होटेलमा मात्र तीन अर्ब लगानीको प्रस्ताव आएको छ।

९६ होटेलमा नेपालीको ५५ करोडको हाराहारीमा लगानी रहने विभागको तथ्यांकले देखाउँछ। कतिपय होटेलमा शत्प्रतिशत विदेशी लगानी आउँदैछ भने कतिपय होटेलमा नेपालीको पनि लगानी हुनेछ।

चीनको स्वशासित क्षेत्र हङकङको वाइस पिस डेभलपमेन्ट कम्पनीले काठमाडौंमा लक्जरी होटेल खोल्ने प्रस्ताव गरेको छ। वाल्डो डाइनेस्टी नामक होटेलमा दुई अर्ब रुपैयाँ विदेशी लगानी हुनेछ। यसैगरी, चीनको धोगु होटेल डेभलपमेन्ट कम्पनी प्रालिले काठमाडौंमा लक्जरी होटेले खोल्ने प्रस्ताव गरेको छ। होटेलमा एक अर्ब रुपैयाँ लगानी हुनेछ। यसमध्ये ८५ करोड चिनियाँ र १५ करोड रुपैयाँ लगानी रहने विभागले जनाएको छ। १० महिनामा चीनबाट लगानी प्रतिबद्धता आएका ६० होटल रेस्टुराँमध्ये ५० भन्दा बढी साना हुन्। रेस्टुरेन्ट, कफी सपमा चिनियाँ लगानी छ। पर्यटकीय क्षेत्र ठमेल, झम्सिखेल, पोखरा, लुम्बिनी, विभिन्न ट्रेकिङ रुटमा चिनियाँ लगानीका होटेल रेस्टुरेन्ट सञ्चालनमा छन्।

त्यसबाहेक नेपाली र चिनियाँको संयुक्त लगानीमा नवलपरासीमा सैलुङ एन्ड एसएमई स्टिल उद्योग सञ्चालनमा आउने भएको छ। यसमा १९ करोड चिनियाँ लगानी र ६ करोड नेपाली लगानी रहनेछ। यसैगरी चिनियाँ र नेपालीकै संयुक्त लगानीमा बैधौ टेक्लो प्रालि सञ्चालनमा आउने भएको छ। यसमा ५२ करोड ५० लाख चिनियाँ र १७ करोड ५० लाख नेपाली लगानी रहनेछ। यसले सफ्टवेयर विकासको काम गर्नेछ। चिनियाँ लगानीकर्ताले नै ५० करोड लगानीमा कन्स्ट्रक्सन कम्पनी सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। यो कम्पनीले निर्माण क्षेत्र सडक, पुल, फ्लाइ ओभर, टनेल, सव-वे, रेलवे, हाइड्रोपावर, इलेक्ट्रिक ट्रान्समिसनमा काम गर्नेछ।

विभागका अनुसार १० महिनाको अवधिमा कृषि तथा वनजन्य परियोजनामा १७ करोड, निर्माणमा एक करोड, सूचना प्रविधिमा चार करोड, उत्पादनमूलक परियोजनामा एक अर्ब ३७ करोड, खानीमा तीन करोड, सेवा क्षेत्रमा चार अर्ब १४ करोड र पर्यटनमा चार अर्ब ९५ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ।

मुलुकमा दुई सय ६१ परियोजनामार्फत आउन लागेको लगानीले सात हजार पाँच सय ९० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ। यी परियोजनाको कुल पुँजी १२ अर्ब २८ करोड रुपैयाँ छ। कुल पुँजीमा डेढ अर्ब रुपैयाँ नेपाली लगानीकर्ताको हुनेछ। कतिपय परियोजना नेपाली र विदेशीको संयुक्त लगानीमा सञ्चालन हुनेछन्।

जानकारी तथा लेखहरु