फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आधुनिक सेवासहित पर्यटक बस सञ्चालन

(GMT+08:00) 2017-05-08 17:00:21

लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी लुम्बिनी–काठमाडौंका लागि सुपर एसी डिलक्स बस शुक्रबारदेखि सञ्चालन भएको छ। अत्याधुनिक प्रविधिको बसभित्र मीनी बार, शौचालय, फ्रेस रुम र इन्टरनेटको सुविधा राखिएको कान्तिपुर अनलाइनले लेखेको छ। लुम्बिनी आउजाउ गर्ने पर्यटक बढिरहेका बेला आरामदायी यात्राका लागि पश्चिम नेपाल बस व्यवसायी संघले यस्ता बस सञ्चालन गरेको हो।

संघ अध्यक्ष दधीराम खरेलले लुम्बिनी आउने पर्यटकलाई विमानमा चढेसरह सुविधा दिएर यात्रा गराउन चाहेको बताउनुभयो। दुई हजार भाडा तिरेपछि बसमा खानासहितको सुविधा पाइने अध्यक्ष खरेलले जानकारी दिनुभयो। बस चढ्नासाथ स्वागत गर्न र यात्रुलाई सहयोग गर्न महिला कर्मचारी रहेको उहाँले बताउनुभयो। लुम्बिनीबाट बिहान साढे 5 मा छुटेको बस भैरहवा हुँदै बुटवलबाट 7 बजे छुट्नेछ। भैरहवाका यात्रुले 1 हजार 9 सय र बुटवलबाट 1 हजार 8 सय रुपैयाँ भाडा तिर्नुपर्नेछ। काठमाडौंबाट लुम्बिनीका लागि बिहान साढे 5 मा गंगबु बसपार्कबाट र 6 बजे कलंकीबाट छुट्नेछ।

अध्यक्ष खरेल अनुसार अप्ठ्यारो बाटोमा पनि नहल्लिन 55 चेसिज एयर सस्पेन्सर राखिएको छ। 'लुम्बिनी–काठमाडौंको 2 सय 57 किलोमिटर यात्रामा कत्तिबेलै यात्रुलाई पट्यार वा असजिलो लाग्ने छैन,' अध्यक्ष खरेलले भन्नुभयो, 'यात्रु खुट्टा पसारेर सुतेरै जान्छु भने पनि काठमाडौं पुग्न वा लुम्बिनी फर्कन सक्छन्।' सुरुमा केही दिन काठमाडौं र लुम्बिनीबाट दैनिक एक–एक वटा मात्रै छुट्ने संघले जनाएको छ।

पर्यटकको चाप र रुचि हेरेर बसको संख्या थप्ने र अन्य सहरमा पनि यिनै बस चलाउने लक्ष्य रहेको संघका महासचिव जीवनकुमार बञ्जाडेले बताउनुभयो। पोखरा–काठमाडौंमा सुविधायुक्त सुपर एसीसहितको बस सञ्चालन भएपछि लुम्बिनी–काठमाडौंका लागि पनि चलाइएको हो। 25 सय बस रहेको बस व्यवसायी संघले यात्रुको सुविधाका लागि पछिल्लो समयमा डिलक्स, सुपर डिलक्स र एसी बसको संख्या थप्दै गएको छ।

जानकारी तथा लेखहरु