फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत यु होङद्वारा निर्माणाधिन पोखरा विमानस्थलको अवलोकन

(GMT+08:00) 2017-05-09 16:17:26

चिनियाँ राजदूत यू होङले स्थानीय तहको निर्वाचनपछि पोखरा विमानस्थल निर्माण कार्य सुरु हुने बताउनु भएको छ। उहाँले निर्माणाधीन विमानस्थलको सोमबार अवलोकन गर्दै पोखरावासीको प्रतीक्षाको घडी सकिएको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

'पोखरावासीको आकांक्षा पूरा गर्न हामीलाई स्थानीयको सहयोग चाहिन्छ,' उहाँले भन्नुभयो, 'स्थानीय सरकार गठनपछि काम गर्न सहज हुन्छ।' उहाँले अनिश्चित भएको समस्या सुल्झिसकेकाले अब काम सुरु गर्न अप्ठ्यारो नभएको बताउनुभयो। नेपाललाई ऋण प्रदान गर्ने चीनको एक्जिम बैंकले लगानी सुनिश्चितताका लागि नेपालका सबै विमानस्थलको आम्दानी संयुक्त खातामा राख्ने सर्त राखेको थियो। तर, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नमानेकाले विमानस्थल निर्माण कार्य सुरु हुन सकेको थिएन।

क्यानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मात्रै आम्दानी संयुक्त खातामा राख्ने प्रस्ताव बैंकलाई गरेको थियो। बैंकले वैशाख 8 मा संयुक्त बैंक खाता सञ्चालनसम्बन्धी सर्त संशोधन गरिएको बेहोरा उल्लेख गरेर क्यानलाई पत्र पठायो। संशोधित प्रस्तावअनुसार क्यानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी मात्रै संयुक्त खातामा जम्मा गरे पुग्छ।

बैंकले उक्त पत्रमार्फत क्यानलाई वैशाख 29 सम्म जवाफ दिन आग्रह गरेको छ। राजदूत यूले नेपालले संशोधित ऋण सम्झौतामा हस्ताक्षर गर्ने मितिबाटै निर्माण कार्य सुरु गर्ने बताउनुभयो। 'चीनका तर्फबाट अब कुनै बाधा छैन,' उहाँले भन्नुभयो, 'नेपालको अर्थ मन्त्रालयबाट संशोधित ऋण सम्झौतामा हस्ताक्षर हुने बित्तिकै विमानस्थल निर्माणको बाटो खुल्छ।' उहाँले विमानस्थल समयमै सकाउन स्थानीयको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो। परियोजनामा खटिएका नेपाली इन्जिनियरहरूलाई पनि स्थानीय सरकार निर्वाचित भएपछि सहकार्य गरेर काम गर्न उहाँले आग्रहसमेत गर्नुभयो। भन्नुभयो, 'जुन पार्टी आए पनि भिन्नता नराख्नुस्।'

तीनदिने पोखरा भ्रमणका क्रममा राजदूत यू होङले विमानस्थल निर्माणको ठेक्का पाएको चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएएमसीई) का उपाध्यक्षसहितको टोलीसँग पनि सोमबार भेट गर्नुभयो। निर्माणाधीन विमानस्थलमै भएको भेटमा सीएएमसीईका उपाध्यक्ष लिउ सेङचेङले परियोजनाको प्रगति विवरण, कम्पनीले हालसम्म गरेका र गरिरहेको कार्यबारे राजदूत यूलाई जानकारी दिनुभयो। उहाँले विमानस्थलको नक्सा डिजाइन, इन्जिनियरिङ, उडान प्रक्रियाको अध्ययनको कार्य सकिसकेको बताउनुभयो।

गत असारबाट नक्सा डिजाइनको काम सुरु गरेको कम्पनीले एक वर्षको अवधिमा सबै कुरा सकेको उहाँले जनाउनुभयो। 'अब हामी भौतिक संरचनाको निर्माण सुरु गर्न तयारी अवस्थामा छौं,' उहाँले भन्नुभयो, 'संशोधित ऋण सम्झौतामा हस्ताक्षर हुने बित्तिकै काम सुरु गर्छौं।' उहाँले काम सुरु गरेपछि समयमै सकाउने प्रतिबद्धता राजदूतसमक्ष गर्नुभयो। 'हामी समयमै काम सक्नेमा निर्धक्क छौं,' उहाँले भन्नुभयो, 'स्थानीय र सरकारको साथ र सहयोग रहने अपेक्षा गरेका छौं।' सीएएमसीईका उपाध्यक्ष लिउ सेङचेङको नेतृत्वमा शुक्रबार नेपाल आएको टोली आइतबार पोखरा आएको थियो।

राजदूत भएपछि पहिलोपटक पोखरा आउनु भएकी यू होङले शुक्रबार, शनिबार र आइतबार विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्नुभयो। उहाँले फेवाताल, विश्व शान्ति स्तुपा, डेभिज फल, गुप्तेश्वर गुफा, सराङोटलगायत स्थानको भ्रमण गर्नु भएको हो। उहाँ चीनको स्वशासित क्षेत्र तिब्बतले पोखरामा सहयोग गरेको 1 हजार सौर्य सडक बत्ती हस्तान्तरण गर्ने कार्यक्रममा पनि शनिबार सहभागी हुनुभयो।

जानकारी तथा लेखहरु